झापा , फागुन ११ । ‘हामीलाई शान्तिसंग पढ्न देऊ, हाम्रा अभिभावकलाई बाँच्न देऊ’ भन्ने नारा लगाउँदै लघुवित्त, मिटरब्याजी र बैंकहरुले गरेको शोषणबिरुद्ध झापाको बिर्तामोडमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन ।

लघुवित्त, मिटरब्याजी र बैंकहरुको आतंकबिरुद्ध झापामा निरन्तर संघर्ष गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीनिकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी मेचीको आयोजनामा उक्त कार्यक्रम भएको हो । प्रदर्शनमा झापाका जिल्ला इन्चार्ज प्रशान्तलगायतका नेताहरु पनि सहभागी भएका थिए ।
बिर्तामोडको पुरानो इलाम स्टेशनबाट सुरु भएको र्यालीले मुक्ति चोकसम्म नाराबाजी गरेको थियो । मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा अखिल क्रान्तिकारीका महासचिब ललित सिंहले बोलेका थिए । उनले बिद्यार्थीहरुले आफ्नो अभिभावकमाथि भएको ज्यादतीबिरुद्ध संघर्ष सुरु गरेको र यो आन्दोलनले बैंक , मिटरब्याजी र लघुवित्तवाला ठगहरुलाई मुक्ति चोकमा ल्याएर घिसार्ने बताए ।

कोणसभामा बोल्दै नेकपा झापाका सेक्रेटरी संजय सिंहले ठगहरुको अत्याचार सहेर बस्न नसकिने भएकोले अब सबै बिद्यार्थीहरुलाई संघर्षमा आउन अपिल गरे । उनले पार्टीको आधिकारिक नम्बर ९८६४६५८९६४ सबैलाई टिपाउँदै कुनै बैंक, वित्तीय संस्था र मिटरब्याजीले दुख दिएमा पार्टीमा सम्पर्क गर्न आग्रह गरे । प्रदर्शनमा ‘मिटरब्याजी तस्करहरु होसियार , हाम्रा अभिभावकलाई बाँच्न देऊ, हामीलाई शान्तिसंग पढ्न देऊ । वित्तीय संस्था, मिटरब्याजी र बैंकहरु होसियार, ब्याजदर एक अंकमा झार , दलाल सरकार मुर्दावाद , बिद्यार्थी एकता जिन्दावाद , अखिल क्रान्तिकारि जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्