झापा, फागुन ११ । गत मंगलवार मुक्ति चौकमा आत्मदाहको प्रयास गरेका बिर्तामोड ७ का विजय चौधरीले आफूले दुर्गा प्रसाईका लागि आत्मदाह गरेको बयान दिएका छन् ।

प्रहरीले बयान लिने क्रममा उनले बीएण्डसीका संचालक दुर्गा प्रसाईले संचालन गरेको ‘नागरिक बचाउ महाअभियान’का लागि समेत आफूले आफ्नो शरीरमा आगो लगाएको कुरा बताएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले जानकारी दिए । डीएसपी कार्कीका अनुसार चौधरीले पारिवारिक समस्या , बैंकको ब्याजलगायतका समस्यासंगै प्रसाईको अभियानलाई समर्थन जनाउनसमेत आत्मदाह प्रयास गरेको बयान दिएका छन् । कसैको उक्साहटमा नलागेर आफ्नै इच्छाले त्यस्तो प्रयास गरेको चौधरीको भनाई छ । ‘प्रहरीले प्रारम्भिक बयान मात्र लिएको छ ’ डीएसपी कार्कीले भने,‘ निको भइसकेपछि हामी पूर्णरुपमा बयान लिन्छौं ।’
बीएण्डसी हस्पिटलमा उपचाररत चौधरीको अवस्था सामान्य बन्दै गएको छ । अब केही दिनमा उनलाई डिस्चार्ज दिने बताइएको छ ।

बिर्तामोड ७ निवासी ३४ वर्षिय चौधरी बीएण्डसी हस्पिटलमा चालकको काम गर्थे । चौधरी बीएण्डसी अस्पतालका सञ्चालक प्रसाईका ठूलो फ्यान हुन् । उनले आफ्नो पाखुरामा प्रसाईको टाटु नै बनाएका छन् ।बीएण्डसीमा काम गरेका चौधरी सामान्य परिवारका हुन् । उनको परिवारका तीनजना सदस्य चालक हुन् । गत वर्ष निधन भएका उनका बुवा हरिराम चौधरी जिल्ला शिक्षा कार्यालयको गाडी चलाउँथे । त्यस्तै विजयका जेठा दाजु जय पनि निर्वाचन कार्यालयको गाडी चलाउँथे । गत वर्ष दुर्घटनामा परेपछि एक वर्षदेखि जय थला परेर घरमा छन् । विजयका दुईजना श्रीमती रहेको छिमेकीले बताएका छन् । जेठी श्रीमती र छोरी बीएण्डसीमा काम गर्छन् भने कान्छी श्रीमती र उनका दुई छोराछोरी घरमा बस्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्