झापा, फागुन १२ । ‘द भ्वाइस किड्स नेपाल सिजन २’ शोको प्रसारण फागुन २६ गतेबाट सुरु हुने भएको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम गर्दै शोका निर्देशक लक्ष्मण पौडेलले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दिए । हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिवार राति ८ बजे प्रसारण हुने शोमा पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका हजारौँ आवेदकबाट छानिएका ६५ जना प्रतिभाहरूले ब्लाइन्ड अडिसनमा कोचको सामना गर्नेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरूको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् । यसपटक भ्वाइसको टिमले कोचमा सामान्य परिवर्तन गरेको छ । टिममा चर्चित गायक सुशान्त केसी नयाँ कोचका रूपमा भित्रिएका छन् । यसअघि दर्शकको मन जित्न सफल लोकप्रिय कोचहरू प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार पनि ‘भ्वाइस किड्स सिजन २’ को कोचका रूपमा रहेका छन् । विश्वका चलेका शो नेपाल भित्राउने काम गर्दै आएको हिमालय टिभीले बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ पनि प्रसारण गर्ने तयारीमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्