झापा, फागुन १२ । संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।
आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा साझा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बताए ।
‘अहिले साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतले निर्णय गरेको छ,’ उपसभापति खड्काले भने ।
आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल भएर पनि प्रतिपक्षमा रहेको कांग्रेस फेरि शक्तिमा फर्किएको छ । राष्ट्रपतिमा कांग्रेसलाई सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएका छन् भने विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि साथ दिएका छन् ।

उता नेकपा एमालेले सरकारबाट बाहिरिने तयारी गरेको छ। बालुवाटारमा आठ दलले राष्ट्रपति कांग्रेसलाई दिने निर्णय गरेपछि एमालेले सरकारबाट बाहिरिने तयारी गरेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। शितल निवासमा भएको भेटघाटमा अध्यक्ष ओलीले शनिबार बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको एमालेका एक नेताले बताए।

नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री दाहालले सत्तागठबन्धन तोडेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई जिताउने निर्णय गरेर गठबन्धन तोडेको बताए ।
‘राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार बनाउने निर्णय गरेर प्रधानमन्त्री दाहालले गठबन्धन तोड्नु भएको छ’ ज्ञवालीले भने । उनले ८ राजनीतिक दलका पछिल्लो निर्णयले देशलाई अस्थिरतातर्फ धकेलेको बताएका छन् ।
‘यो राजनीतिलाई अनन्त अस्थिरतातर्फ धकेल्ने निर्णय हो । जुन कोर्समा देशअघि बढ्न खोजेको थियो त्यसलाई जनताले नै राम्रो मानेका थिए । आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पनि देखा पर्ने थालेको थियो । मुलुकलाई फेरि अस्थिरता अन्यौल सत्ताको लुछाचुडी र भागबण्डामा लैजाने र विस्तारै लोकतन्त्रमाथि नै वितृष्णा बढाउन दिशातर्फ जाने निर्णय हो’ ज्ञवालीले भने, ‘यसले राजनीतिमा विश्वास, संकट, धोकाधडी र आफूले दिएका वचनहरुलाई क्षणक्षणमै फेर्ने विषय हाबी भएको छ भने देखाएको छ ।’
ज्ञवालीले यो गठबन्धन निर्माणमा बाह्य शक्तिहरुको चलखेल निकै देखिएको बताए । ‘नेपालको आन्तरिक मामिलामा आँफै निर्णय गर्ने विषयलाई पनि कमजोर बनाएको छ,’ ज्ञवालीले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्