झापा, फागुन १३ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।
शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

उता नेकपा एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । एमाले पार्टी कार्यालय च्यासलमा शनिवार बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। भट्टराईले नेम्बाङले निर्वाचन जित्ने विश्वास व्यक्त गरेका छन्। नेम्बाङ पूर्व सभामुख समेत हुन्।
पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएका थिए। बालकोटको उक्त सहमतिमा एमालेको भागमा राष्ट्रपति परेको थियो । तर राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री दाहालले एमाले नेतृत्व गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्