झापा, फागुन १५ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)ले आयोजना गर्ने साफ यू-१९ च्याम्पियनसिप नेपालमा हुने भएको छ ।

साफले आइतबार सामाजिक सञ्जालमार्फत प्रतियोगिताको मिति र आयोजना स्थल सार्वजनिक गरेको हो । साफले सार्वजनिक गरेको तालिकाअनुसार नेपालमा हुने यू-१९ च्याम्पियनसिप आगामी २०८० असार १७ गतेदेखि साउन १ गते (सन् २०२३ जुलाई ७ देखि १७ तारिख)सम्म सञ्चालन हुनेछ । यसअघि सन् २०१५ मा नेपालले आयोजना गरेको यो प्रतियोगिताको उपाधि नेपालले नै जितेको थियो । सन् २०१९ मा यो प्रतियोगिता साफ यू-१८ च्याम्पियनसिपको नाममा भएको थियो‚ जसको आयोजना पनि नेपालले नै गरेको थियो । त्यतिबेला फाइनलमा पुग्न सकेको थिएन । यस वर्ष हुने साफ यू-१९ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एशियाली देश बंगलादेश, भुटान, भारत, माल्दिभ्स र पाकिस्तान सहभागी हुनेछन् । अन्तरराष्ट्रिय फुटबल महासंघ फिफाले श्रीलंकामाथि प्रतिबन्ध लगाएका कारण उसले साफका कुनै पनि प्रतियोगिता खेल्न पाउने छैन । साफ यू-१७ वुमन्स् च्याम्पियनसिप २०२३ बंगलादेशमा आयोजना हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्