झापा,फागुन १५ । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार ५ विजयको कीर्तिमान बनाएको छ ।

नेपालले यूएईमा क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको विजय हात पार्दै पहिलो पटक लगातार ५ खेल जितेको हो ।
टस हारेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलको अर्धशतकबाट प्रेरित नेपालले ४५.२ ओभरमा २०७ रन बनाउँदै विजयी लक्ष्य पूरा ग¥यो ।

अघिल्लो साता नेपालले घरेलु मैदानमा लिग–२ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी सबै ४ खेल जित्दै क्लिन स्विप गरेको थियो । नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेल जितेको थियो ।
कुशलले ५६ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको चौथो अर्धशतक हो । ६९ बलको इनिङ्समा उनले ५ चौका प्रहार गरे । कुशल र आसिफ शेखले पहिलो विकेटमा १५ ओभरभित्र ७६ रनको ठोस साझेदारी गरी नेपालको विजयको आधार बनाए । आसिफले ३९ बल खेल्दै ५ चौकासहित ४४ रन बनाए ।

आसिफ रनआउट भए । आफ्नै कलमा रन लिन दौडिए पनि नन स्ट्राइकमा रहेका कुशलले याद नगरेपछि आसिफ रनआउट भए । ज्ञानेन्द्र मल्ल ४ रन बनाई इनसाइड एज लागेर नोर्मन भानुआको बलमा बोल्ड भए । कप्तान रोहित पौडेलले ३४ बलमा १४ रन बनाए ।
टोलीमा फर्किएका आरिफ शेखले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटमा ५४ रनको साझेदारी गरे । ६ बलको अन्तरमा यी दुवै आउट भए । आरिफले ६६ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरि ३३ रन बनाए । दीपेन्द्र २२ रनमा आउट भए । कुशल मल्ल १२ र सोमपाल कामी ५ रन बनाई अविजित रहे । पपुवा न्यु गिनीबाट असाद भालाले ३ विकेट लिए । उनले १० ओभरमा ३७ रन खर्चे ।
यसअघि पपुवा न्यु गिनीबाट कप्तान भालाले ३६ रन बनाएका थिए । उनले ५३ बल खेल्दै ४ चौका प्रहार गरे । सेसे बाउले ५१ बल खेली ३ चौका प्रहार गरी ३१, किप्लिन डोरिगाले ५९ बल खेली ४ चौका प्रहार गरी २९ रन बनाए । ओपनर टोनी उरा २ र चाल्र्स अमिनी ६ रनमा आउट भए ।
चाड सोपर ३६ रन बनाई अविजित रहे । उनले ५३ बल खेल्दै २ चौका प्रहार गरे । नोर्मन भानुआले खेलको अन्त्यतिर १५ बलमा २५ रन बनाए । उनले समान २ चौका र छक्का प्रहार गरे । गुलशन झाले नेपालबाट ३ विकेट लिए । उनले ९ ओभरमा २८ रन खर्चे । कुशल मल्लले ८ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र करण केसीको नाममा १–१ विकेट रहयो ।

‘डेब्यु’ गरेका प्रतिश जिसी केही महँगा साबित भए । उनले ६ ओभरमा ३७ रन खर्चेर एक विकेट लिए । दीपेन्द्रले सानदार क्याच लिइ हिरी हिरीलाई १० रनमा पेभेलियन फर्काउँदै प्रतिशलाई पहिलो विकेट लिन सहयोग गरे ।
घरेलु मैदानमा लिग २ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी ४ खेल जित्दै क्लिन स्विप गरेको नेपालले त्यो फर्मलाई बलिङ र ब्याटिङबाट कायमै राख्दै जितलाई निरन्तरता दिएको छ । त्यसको विपरीत लिग–२ को पुछारमा रहेको पपुवा न्यु गिनीले पछिल्ला ६ खेल नै हारेको छ । टोलीले लिग–२ का २९ खेलमा २ मा मात्र विजय हात पार्न सकेको छ ।
नेपाल २९ खेलको समाप्तिमा २८ अंकसहित सात राष्ट्र सहभागी लिग–२ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जितेमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।यूएई भ्रमणमा नेपालले पपुवा न्यु गिनी र यूएईसँग २–२ खेल खेलेपछि लगत्तै काठमाडौं आएर यही दुई टोलीसँग थप २–२ खेल खेल्दै लिग–२ को यात्रा टुंग्याउने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्