झापा , फागुन १६ । क्षमताभन्दा बढी कैदी राख्नेदेखि खानेपानी, शौचालय, स्वास्थ्यलगायत आधारभूत आवश्यकतामा देशभरका जेलको अवस्था नाजुक रहेको गुनासो आइरहँदा यँहाका कैदी-बन्दी भने इलाम कारागारलाई ‘सुधार गृह’का रूपमा रहेको बताउने गर्दथे ।
थप अपराधमा संलग्न नहुन र गरेको अपराधबाट सुधार्न कुनै पनि मुद्दामा दोषी ठहर भएका अथवा विचाराधीन मुद्दामा पुर्पक्षमा थुनामा कैदी-बन्दीलाई कारागारमा राखिन्छ । कारागारभित्र कानुनद्वारा वर्जित कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न पाइँदैन । तर, इलाम कारागारमा भने कानुनद्वारा वर्जित मदिरा, जुवातास तथा मोबाइल फोन प्रयोग हुने गरेको पाइएको छ । कैदीबन्दीले कारागार मदिरा सेवन र तासको अखडा बनाइरहेका छन् । कारागारभित्र निषेधित वस्तु प्रवेश हुनुमा कार्यालय कर्मचारी र सुरक्षाकर्मीको ‘सेटिङ’बिना सम्भव छैन । कैदीबन्दी बाहिर निस्कनै पाउँदैनन्, निस्किँदा पनि प्रहरीले हतकडी लगाएर कामको प्रयोजनका लागि लाने गरिन्छ । बाहिरका मान्छेले खानेकुरा कैदीलाई लैजाँदा लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै प्रवेश गराइन्छ । तर, इलाम कारागारमा ‘सेटिङ’बाटै मदिरा भित्रने गरेको पाइएको छ । कैदी-बन्दी मदिरा सेवन, तास र चुरोट प्रयोग गरिरहेको भिडियोसमेत बाहिरिएको छ । जिल्ला कारागार इलामका जेलर सुमित मगर सो फोटो कारागारभित्रकै रहेको स्वीकार गर्छन् । उनका अनुसार सो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदी-बन्दी अहिले पनि यही छन् । केही छुटेर र सरुवा भइसकेका छन् ।