झापा,फागुन १७ । प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

कोशी प्रदेश नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन् ।
प्रदेश १ का सभामुख बाबुराम गौतमले प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताका लागि आह्वान गरेका हुन् । प्रदेश नामकरणका लागि एक जना प्रदेश सांसदको प्रस्तावमा दुई जना सांसदले समर्थन गरेको प्रस्ताव प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष दर्ता गराउनुपर्ने प्रदेशसभा नियमावलीमा व्यवस्था छ ।

सभामुख गौतमले दिउँसो १ बजेसम्मका लागि नामकरण प्रस्ताव सचिवालयमा दर्ता गराउन प्रदेश सांसदलाई समय दिएका हुन् । पहिलो प्रदेशसभाले थाती राखेर गएको प्रदेश १ को नामकरण बुधबार बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने कार्यसूची सार्वजनिक गरिएको छ ।
त्यस्तै प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले संयुक्त रूपमा ‘किरात–लिम्बुवान–सगरमाथा प्रदेश’ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।

उक्त नामकरणका लागि दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी एक्ली प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जवेगु समर्थक रहेका छन् ।
प्रस्तावक राईले सुरूमा माओवादी केन्द्रका नेता ईन्द्रबहादुर आङ्बोले छुट्टै प्रस्ताव दर्ता गराउने सहमति गरे पनि दर्ता गराउने बेलामा पन्छिएको आरोप लगाए ।
यसअघि प्रमुख प्रतिपक्षी कांग्रेस र सत्तारूढ दल एमालेले संयुक्त रूपमा ‘कोशी प्रदेश’ नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । यी दुईवटा नाम सदनमा प्रस्ताव हुने भएको हो ।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरे पनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसदको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्