झापा, फागुन १७ । सप्तरीको शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता निलम्बित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार नगरप्रमुख गुप्ताविरुद्ध घूस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै नगर प्रमुख गुप्ता निलम्बित भएका हुन् । नगर प्रमुख गुप्ता र नगरपालिकाका इन्जिनियर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनाका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले नगरप्रमुख गुप्ता र इन्जिनियर साहमाथि बुधबार विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इन्जिनियर साहलाई एक लाख ४० हजार रुपैयाँ घूस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इन्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

दुवै जनालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा(१) को कसुरमा बिगो एक लाख ४० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३ को उपदफा (१) र सोही दफ ३ को उपदफा(१) देहाय खण्ड (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्