कनकाई, फागुन १७ ।नारी दिवसको अवसर पारेर झापाको कनकाईमा संचालन भइरहेको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

सातौं संस्करणको रूपमा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले आयोजना गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई महिला फुटबल क्लब र शिवसताक्षी महिला फुटबल क्लबबीच भएको थियो ।

खेलको दोस्रो हाफपछि आयोजक कनकाईका तर्फबाट लक्ष्मी श्रेष्ठ लगातार चार गोल गर्न सफल भइन् भने आयोजककी मनिता तुम्रुकले थप एक गोल गरेपछि ५–० को फराकिलो गोल अन्तरले आयोजक टिमले विजयी हासिल गरेको हो ।
खेलको प्लेयर अफ द म्याच आयोजक टिमकी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनलाई स्थानीय युवा व्यवसायी विरेन्द्रप्रकाश मैनालीका तर्फबाट नगद २ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको विहीवारको खेल जुनतारा महिला फुटबल क्लब खुदुनाबारी र बाह्रदशी महिला फुटबल क्लबबीच हुने बताइएको छ ।

स्थानीय कनकाई मावि सुरुङ्गाको खेलमैदानमा भइरहेको प्रतियोगितामा झापाका ८ वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा कनकाई महिला फुटबल क्लब, शिवसताक्षी महिला फुटबल क्लब, दमक महिला फुटबल क्लब, पारिजात महिला फुटबल क्लब सालबारी, जुनतारा महिला फुटबल क्लब खुदुनाबारी, बाह्रदशी महिला फुटबल क्लब, भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपानेले भाग लिएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्