इलाम, फागुन १८ । नगेन्द्र राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै रोङ उद्योग वाणिज्य संघको पहिलो साधारणसभा बिहीवार इलामको रोङ गाउँपालिकामा सम्पन्न भएको छ ।

समितिको उद्योग उपाध्यक्षमा अर्जुन ढकाल, वाणिज्य उपाध्यक्षमा डाइमण्ड तिम्सिना र महिला उपाध्यक्षमा सिता न्यौपाने चयन भएका छन् । त्यसैगरी महासचिवमा माधव निरौला र सचिवमा नन्दकुमार गुरुङ चयन भएका छन् । समितिको सदस्यहरुमा सुष्मा शर्मा ढकाल, कृष्ण श्रेष्ठ, रचनामाया भुजेल, डिना तामाङ, भरत राई, कमलप्रसाद अर्याल, तेजबहादुर राई र रामबहादुर भुजेल चयन भएका छन् ।

सभाले चिन्तामणि बरालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा उषा पौडेल( भुजेल) र दिनेश निरौला रहेका छन् । निर्वाचन कार्यक्रमअनुसार प्रत्येक पदमा एक– एक जना उम्मेद्वारको मात्र मनोनयन परेकाले सञ्चालक समिति र लेखा समितिलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन उपसमितिका संयोजक गणेश अर्यालले जानकारी दिए । नवनिर्वाचित समितिका अध्यक्ष राई इको चिया उत्पादक सहकारी संस्थाका सञ्चालक समितिका सदस्य समेत रहेका छन् ।

यसअघि सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउँपालिका अध्यक्ष मणिकुमार स्याङबोले निजी क्षेत्रको विकास नभई देश विकास हुन नसक्ने बताए । उद्योग वाणिज्य संघले गर्ने हरेक कार्यहरुमा गाउँपालिका सहकार्य गर्न तयार रहेको बताउँदै अध्यक्ष स्याङबोले वित्तीय साक्षरता कार्यक्रममा उद्योग वाणिज्य संघको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारतसंगको पशुपतिनगर नाकाबाट हुने कारोबार ब्यवस्थित बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका सदस्य प्रेमराज गुरुङ ,रोङ ३ का वडा अध्यक्ष मातृका बराल, इको चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष रणबहादुर गुरुङ ,पामकोल बचत तथा ऋण सहकारी संस्थाका गोपाल निरौलालगायतले शुभकामना मन्तब्य राखेका थिए । उद्योग वाणिज्य संघ रोङमा ३ वटा संस्थासहित ८४ जना सदस्य रहेको नवनिर्वाचित समितिका महासचिव माधव निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्