बिर्तामोड, फागुन १८। नगर गौरवको योजनाको रुपमा झापाको बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा निर्मित भवनमा नगर अस्पताल संचालन भएको छ ।

हाल सो अस्पतालमा दैनिक औसत २५० देखि ४०० सम्म विरामीहरुको उपचार भइरहेको छ । सो अस्पतालको शनिवार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघीय सरकारको पाँच करोड ५० लाख सात हजार सात सय ६० रुपैयाँको लागतमा १५ शैय्याको नगर अस्पताल संचालन भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

नगर अस्पतालबाट २१ प्रकारका सेवा प्रवाह हुने छन् । नेपाल सरकारको स्वास्थ्य बिमा पूर्ण रूपमा लागु गरिएको, दैनिक ओपिडी जाँच, उपचार तथा परामर्श सेवा, प्रयोगशाला सेवा , भिडियो एक्सरे सेवा, एक्सरे सेवा ,इसीजी सेवा, गर्भवती जाँच , निःशुल्क आइरन तथा क्याल्सियम वितरण तथा खोप सेवा , परिवार नियोजन सेवा छोटो तथा लामो अवधिका परिवार नियोजन सेवा , पाठेघरको मुखको क्यान्सरको जाँच , निःशुल्क सुरक्षित गर्भपतन सेवा ,बच्चाहरुमा हुने कुपोषणको जाँच तथा व्यवस्थापन, निःशुल्क औषधि वितरण नेपाल सरकारबाट तोकिएका १८ प्रकारका औषधिहरु, नसर्ने रोगको जाँच तथा नेपाल सरकारद्वारा तोकिएका औषधि वितरण ,कीटजन्य रोगहरुको जाँच तथा उपचार सेवा , कोभिड रोगको निःशुल्क जाँच , बाल रोग (५ वर्ष मुनिका बालबालिकाहरु) को एकीकृत व्यवस्थापन , खोप कार्यक्रम (बच्चा जन्मेदेखि २ वर्षसम्मका सम्पूर्ण खोपहरु नेपाल सरकारबाट तोकिएका), निरोगिता प्रमाणपत्र ,२४ घण्टे आकस्मिक सेवा , २४ घण्टे सुरक्षित प्रसूती सेवा ,८ वटा डायलासिस मेसिनसहितको सेवा संचालन गरिने मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले बताए । ‘विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्छौं’, उनले भने, ‘विशेष परिस्थितिबाहेक रिफर दिइने छैन ।’ निकट भविष्यमा थाइराइड जाँच र रेविजविरुद्धको भ्याक्सिनको व्यवस्थासमेत मिलाइने उनले बताए ।


नगर अस्पतालका हाल ३६ जनशक्ति व्यवस्थापन भइसकेको छ । एक जना विशेषज्ञसहित तीन मेडिकल अधिकृत, प्यारामेडिक्स १२, नर्स सात, प्रयोगशालामा चार, रेडियोग्राफर एक, प्रशासन कर्मचारी एक, कार्यालय सहयोगी चार, सरसफाइ कर्मचारी दुई र सुरक्षा गार्ड एक गरी ३६ जनशक्ति व्यवस्थापन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत राजिव विष्टले जानकारी दिए ।
नगरपालिकाले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेको नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिइन् । उनले भनिन्, ‘हरेक नगरवासीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ लागेका छौँ ।’


अस्पताल परिसरमा थप रू १८ करोड ५० लाखको लागतमा भवन निर्माणको तयारी भइरहेको छ । भवनसँगै क्रमशः अस्पतालबाट प्रवाह हुने सेवा विस्तार गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्