एजेन्सी । अर्जेन्टिनाको सान्ता फे प्रान्तस्थित रोजारियोमा लियोनेल मेसीको परिवारले सञ्चालन गर्दै आएको एक सुपरमार्केटमा बिहिबार मोटरसाइकलमा आएका दुई व्यक्तिले जथाभावी गोली प्रहार गरेका छन् ।

आक्रमणकारीले अर्जेन्टिनी कप्तान एवं सात पटक विश्व वर्ष खेलाडी ३५ वर्षीय मेसीलाई एउटा धम्कीपूणर् पत्रसमेत छोडेका छन् । ‘मेसी, हामी तिम्रो लागि पर्खिरहेका छौं, यहाँका मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, त्यसैले उसले तिम्रो सुरक्षा र हेरचाह गर्नसक्दैन,’ आक्रमणकारीले हातले लेखिएको पत्रमा भनिएको छ । आक्रमणपछि मेयर जाभकिनले संगठित अपराध न्यूनिकरणका लागि सुरक्षा निकायहरू असफल भएको भन्दै आक्रोश पोखेका छन् । उनले पछिल्ला वर्षहरूमा महत्वपूणर् बन्दरगाह सहरमा यस्तो अपराधिक घटना बढिरहेकोमा सचेत हुन आग्रहसमेत गरे। ‘मैले पीडितसँग कुरा गरेको छु । उनीहरू धेरै चिन्तित छन्,’ मेयर जाभकिनले आक्रमण भएको सुपरमार्केट बाहिर पत्रकारहरूसमक्ष भने। आक्रमण भएको भवनको अगाडि १४ वटा गोली लागेको छ । घटनापछि सुपरमार्केट बन्द छ । प्रहरीका अनुसार राजधानी ब्यूनस आयर्सबाट करिब १९० माईल (३०० किलोमिटर) उत्तरपश्चिममा रहेको रोजारियोस्थित मेसीको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा आक्रमण भएको हो।

बन्धुकधारीको आक्रमणमा कुनै पनि मानवीय क्षती नभएको र कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । मेसीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा रहेको अर्जेन्टिनाकै तेस्रो-सबैभन्दा ठूलो शहर रोजारियोस्थित युनिको सुपरमार्केटलाई किन निशाना बनाए भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिले युनिको सुपरमार्केटमा बिहानै आएर कम्तिमा एक दर्जन गोली प्रहार गर्दै कार्बोर्डमा मेसीलाई सन्देश छोडेका छन् । मेसीले यसबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबीच सान्ता फेका सुरक्षा मन्त्री क्लाउडियो ब्रिलोनीले आक्रमणकारीको उद्देश्यबारे बारे कुनै ठोस अनुमान नभएको प्रतिक्रिया दिएका छन् । आक्रमणअघि पीडित परिवारले यस्तो कुनै पनि धम्की नपाएको उनले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्