झापा,फागुन १९ । नेकपा एमालेबाट निष्काशित भइसकेपछि भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव चन्द्रमाया श्रेष्ठले पार्टी परित्याग गरेको खुलेको छ ।

उनलाई एमाले जिल्ला कमिटीले दुई दिनअघि नै निष्काशणको कार्वाही गरेको थियो ।पार्टीबाट निष्काशित भइसकेपछि श्रेष्ठले फागुन १७ गते आफूलाई भेट्न आएको र कार्वाही फुकुवा गर्न दवाव दिएको जिल्ला कमिटी अध्यक्ष दीपक कार्कीले बताए । कार्वाही फुकुवा नगरे पत्रकार सम्मेलन गर्ने भनेर भन्दा आफूले त्यस्तो काम नगरी यदि निर्दोष भएर पार्टीमा दलिल पेश गर्न सुझाव दिएको स्मरण गरे । स्थानीय तह र मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा समेत श्रेष्ठले अन्तर्घात गरेको आरोप लागेको थियो । ती आरोप पुष्टि भइसकेपछि साधारण सदस्यसमेत नरहनेगरी दुई वर्षका लागि निष्काशनको कार्वाही गरिएको पार्टी स्रोतले जनाएको छ ।

निर्वाचनमा अन्तर्घात गर्ने भद्रपुरका पूर्व नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य जीवन श्रेष्ठलाई पनि कार्वाहीको सिफारिस भएको छ । प्रदेश कमिटी सदस्य भएकाले कार्वाहीको लागि जिल्ला कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको अध्यक्ष कार्कीले जानकारी दिए । उनले निर्वाचनमा अन्तर्घात गर्ने अन्यलाई पनि कार्वाही गरिएको जानकारी दिए ।

निर्वाचनमा असहयोग गर्नेहरुलाई छानबिन गर्न प्रेम गिरीको संयोजकत्वमा निर्वाचन समीक्षा आयोग बनेको थियो । सो आयोगले फागुन ८ गते प्रतिवेदन बुझाएको थियो । आयोगले प्रदेश कमिटी सदस्यसहित २७ जनामाथि प्रश्न उठाएको छ । श्रेष्ठले शुक्रवार पत्रकार सम्मेलनमार्फत पार्टी परित्याग गर्दैगर्दा स्थानीय तहको टिकट वितरण हचुवाको भरमा भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् । उनी नगर प्रमुख पदको दावेदार थिइन् । तर, सो टिकट असारु राजवंशीले पाएका थिए । ‘आफूले टिकट पाएको भए एमालेले निर्वाचन जित्थ्यो’ उनले दावी गरेकी छन् । उनले प्रतिनिधिसभा निर्वाचनमा पनि असहयोग गरेको आरोप लागेको थियो । राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने पार्टी एमाले राजावादी शक्ति (राप्रपा) संग निरन्तर रुपमा तालमेल गर्दै अघि बढेको र झापा ३ नं. क्षेत्रमा नेकपा एमालेलाई कमजोर बनाएको भन्दै त्यस निर्वाचनप्रति पनि असन्तुष्टि पोखेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्