झापा, फागुन १९ । ऋणीहरुले कर्जा तिर्न छोडेपछि झापाका सहकारी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले अपवाहको पछि नलाग्न सदस्यहरुलाई आग्रह गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी केही दिनदेखि लघुवित्त , सहकारी र वित्तीय संस्थाविरुद्ध आन्दोलित रहेको छ । त्यस्तै बिएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाई सहकारीविरुद्ध भड्काउँदै हिडेका छन् ।

सदस्यहरुले कर्जा तिर्न र निक्षेप जम्मा गर्न छोडेको अबस्थामा केही व्यक्तिहरुले सहकारी संस्थाहरुमा फोन गरेर कर्जा नअसुल्न धम्कीसमेत दिन थालेको जनाइएको छ । अराजक समूह तथा स्वार्थ समूहले आर्थिक संकटकोे फाइदा उठाउँदै वित्तीय कारोबार गर्ने सहकारीलगायतका संघ÷संस्थामाथि प्रहार केन्द्रित गर्दै गएको झापा जिल्ला सहकारी संघले जनाएको छ । ‘यस्तो तत्वको उद्देश्य जहाँ जहाँ जुन जुन संस्थाबाट ऋण लिएपनि नतिर्ने, नतिर्न उर्दी गर्ने,व्याज महँगो भयो भनेर सदस्यलाई भ्रम सृजना गर्ने, समाजमा अराजकता र अनुशासनहिनता स्थापित गरी आफूले लिएको ऋण नतिर्ने,सके ऋण दिने संस्थालाई नै धरासायी पार्ने देखिन्छ ’सहकारी संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

केही दिनयता केही व्यक्ति तथा समूहले अभियानको नाममा झापालगायत देशका विभिन्न स्थानमा समूह तयार गरी होहल्ला गरी सार्वजनिक हुलहुज्जत गर्ने देखिएको सहकारीहरुले जनाएका छन् । यस्तो अवस्थामा सहकारीका केही ऋणी सदस्यहरु पनि ऋण तिर्न नपर्ने भन्दै भ्रममा परेर यस्तो अनैतिक,अराजक समूहको पछि लागेको देखिएकोले सहकारीका सबै ऋणी सदस्य,बचतकर्ता सदस्य,संचालक तथा कर्मचारीहरु सबैलाई अपवाहको पछि नलाग्न झापा जिल्ला सहकारी संघ आह्वान गरेको छ । ‘एउटा सदस्यले लिएको ऋण सयौँ सदस्यको बचत हो । ऋण नतिर्ने वा नतिर्न उर्दी गर्नेले बचतकर्ता सदस्यको बचत जोखिममा निश्चित छ । त्यसैले बचतकर्ता सदस्य एकजुट भएर सामूहिक रुपमा त्यस्तो व्यक्ति वा समूह विरुद्ध लाग्नुपर्ने आवश्यकता समेत देखिएको छ ’ विज्ञप्तिमा भनिएको छ ।
सहकारी संघले हाल समाजमा यस प्रकारका अराजक गतिविधि गर्नेमाथि कडा निगरानी गर्न,दण्डित गर्न राज्यसँग जोडदार माग गरेको छ ।

यसैबीच सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ । बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए । प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए ।

‘बैंक÷वित्तीय संस्था तथा सहकारी संस्था लक्षित गरेर उच्छृंखल, अराजक र अवाञ्छित गतिविधि हुनसक्छ, त्यसप्रति सजग रहन र कसैले कानुन हातमा लिएको छ भने कारबाही गर्न निर्देशन दिइएको छ,’ प्रवक्ता बस्नेतले भने, ‘अवाञ्छित गतिविधि गर्नकै लागि घुसपैठ हुनसक्नेप्रति पनि उच्च सतर्कता अपनाउन पनि भनेका छौं ।’ केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममै बैंक÷वित्तीय संस्थाका सञ्चालक÷कर्मचारीलाई कालोमोसो दल्न भन्दै ऋणीलाई उक्साएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको छ ।प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जुनसुकै आवरणमा भए पनि कानुन हातमा लिने जोसुकैलाई कारबाही गरिने बताए । ‘कालोमोसो दल्न आह्वान गर्ने दुर्गा प्रसाईंको अभिव्यक्तिलाई प्रहरीले ‘नोटिस’ मा राखेर सम्भावित आपराधिक गतिविधि रोक्न सुक्ष्म निगरानी गरिएको प्रवक्ता पोखरेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्