एजेन्सी । बंगलादेशको ढाकामा एउटा साततले भवनमा भएको विस्फोटका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

एक सय जना घाइते भएका छन् । विस्फोटपछि घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मीहरू खटाइएको छ ।
बीबीसी हिन्दीले मृतकको संख्या १५ रहेको जनाएको छ । अलजजीरा र वासिङ्टनपोष्टले १७ र भारतीय सञ्चारमाध्यम इन्डिया टूडेले भने विस्फोटमा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । साथै एक सयभन्दा धेरै घाइते भएको बताइएको छ ।

ढाकाको उत्तर–दक्षिण जोड्ने सडक छुने सिद्धिकी बजारमा यस्तो घटना भएको हो । स्थानीय समय अनुसार हिजो साँझ ४ः४५ बजे विस्फोट भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि विस्फोटको कारण यकिन भइसकेको छैन । साथै घटनास्थलमा मृतकको संख्या बढ्नसक्ने आकलन गरिएको छ ।

केही मानिसहरू भने विस्फोटबाट भत्किएको भवनमा च्यापिएर रहेको हुनसक्ने बताइएको छ । घाइतेहरूलाई ढाकास्थित ढाका मेडिकल कलेजमा उपचारका लागि लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्