भद्रपुर, फागुन २६। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाह्य पर्यटक आकर्षण गर्नका लागि नेपालको प्रकृति र कला संस्कृतिको संरक्षण आवश्यक भएको बताएका छन् ।

भद्रपुर—पोखरा सिधा हवाई उडान सञ्चालन भएको अवसरमा भद्रपुर नगरपालिकाले आयोजना गरेको गन्तव्य पोखरा—भद्रपुर पर्यटन प्रवद्र्धन अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आचार्यले पोखरा नेपालको पर्यटनको राजधानी बन्नुमा प्रकृतिको यथार्थ स्वरूप सुरक्षित रहँदै कला र संस्कृतिको संरक्षण नै कारण भएको बताए ।
उनले आन्तरिक तथा बाह्य पर्यटनको समन्वयबाट नेपालको पर्यटन व्यवसाय फस्टाउने बताउँदै तीन तहकै सरकारले समान महत्व दिएर लगानी गरे देशको अर्थतन्त्रमा पर्यटन क्षेत्र महत्वपूर्ण हिस्सा हुने दावी गरे । आचार्यले विदेशी पर्यटक नेपाल आउँदा भौतिक पूर्वाधार हेर्न नभएर नेपालको प्रकृतिको यथार्थ स्वरूप हेर्न आउने भन्दै जथाभावी प्राकृतिक संरचना भत्काएर भौतिक पूर्वाधार बनाउन नहुने उल्लेख गरे ।

कार्यक्रममा इलामको रोङ गाउँपालिका प्रमुख मनिकुमार स्याङ्वो, झापाका कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, कचनकवल गाउँपालिका प्रमुख कालेन्द्रप्रसादसिंह राजवंशीलगायतले धारणा राख्दै पर्यटकीय क्षेत्रसम्म पुग्ने आधारभूत संरचना निर्माणमा बजेट अभावले आशातित काम गर्न नसकेको दुखेसो पोखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले झापाका संभावित पर्यटकीय क्षेत्रमा सडक, पिउने पानी, यातायातजस्ता आधारभूत पूर्वाधारले छुन नसकेको तथा चन्द्रगढी विमानस्थलमा सञ्चालनमा रहेका ट्याक्सी व्यवसायीको सिण्डिकेटका कारण समेत पर्यटकले सास्ती व्यहोर्नु परेको गुनासो आउने गरेको भन्दै सरोकारवालालाई सचेत हुन सुझाव दिएका थिए भने पोखराका सञ्चारकर्मीले झापामा आधारभूत भौतिक पूर्वाधारका संरचना कमजोर देखिएको भन्दै सुधार गर्न स्थानीय सरकार लाग्ने हो भने पर्यटक आगमन पर्याप्त हुने धारणा राखेका थिए ।

भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा पोखरा महानगरपालिका प्रमुख आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष टिकाराज ढकाल, पर्यटन बोर्डका सदस्य मदन आचार्य, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतले मन्तव्य राख्दै गण्डकी र कोशी प्रदेशले एक आपसमा पर्यटक आदान प्रदान गर्नसके समग्र देशको अर्थतन्त्रमा महत्वपूर्ण उपलब्धी प्राप्त हुने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्