भद्रपुर, फागुन २७। नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र झापा क्षेत्र नं. ३ (क) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।

झापाको भद्रपुरमा शनिवार एक कार्यक्रमका बीच पार्टीले औपचारिक रुपमा अभियान शुरु गरेको हो । अभियानको प्रमुख अतिथि पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)ले उद्घाटन गरे ।उनले
जनता नै पार्टीको मूल आधार भएकाले जनतासँगको सम्बन्धलाई अझ बलियो बनाउनु पर्नेमा जोड दिए । ‘जनजीविकासँग जोडिएका हरेक कुरालाई प्राथमिकता दिँदै पार्टी गतिविधि अघि बढाउनु पर्छ’उनले भने, ‘पार्टीले उठाएका मुद्दा र सरकारमा गरेका कामको प्रचार–प्रसार गर्न जरुरी छ ।’
कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत) ले अभियानका बारेमा प्रकाश पारेका थिए । उनले पार्टीले उठाएका मुद्दामा मुलुक चलिरहे पनि त्यसको जानकारी आमनागरिकमा नहुँदा अरुले फाइदा उठाइरहेको दावी गरे ।

अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाँईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सहइञ्चार्ज पुकार राजवंशी, शहीद परिवारका विवेक राई, गुरु घिमिरेलगायतको आतिथ्य रहेको थियो ।

पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत गरेकी थिइन् भने सञ्चालन पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष किरण सुब्बाले गरेका थिए ।

अभियानअन्तर्गत झापा क्षेत्र नं. ३ (क) मा रहेका स्थानीय तहहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण एवम् वडागत विकासका लागि प्रत्येक वडामा जिल्ला सदस्यलाई जिम्मेवारी तोकिएको नगर अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्