झापा, फागुन २८। साविक १ नं प्रदेशलाई नामांकन गरिएको कोशी प्रदेश खारेजीको मागसहित बन्द गराउँदै हिड्ने पाँचजना बन्दकर्ता झापामा पक्राउ परेका छन् ।

स्कुटीसहित पाँचजना बन्दकर्तालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र रिजालले बताए । उनले बिर्तामोडबाट तीनजना र काँकडभिट्टाबाट दुईजनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेहरुमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई,संघीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा , आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ , पवन मेचेलगायत रहेको आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष पाण्डवलाल चौधरीले बताए । विभिन्न राजनीतिक दल र जातीय संगठनहरुले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसंगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संगठनहरु उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय संगठनले शनिवार साँझ झापाको बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राँके जुलुस प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामांकन अभियानबीच हिजो पार्टी एकीकरण भएसंगै आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।
त्यस्तै कोशी प्रदेश खारेजीको लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पनि आज प्रदेश बन्दको घोषणा गरेको छ । जसका लागि नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको संयोजकत्वमा संघर्ष समिति तयार गरिएको थियो ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको लिम्बुवान भोलेन्टियर्सले पनि आज बन्दको आव्हान गरेको छ । बन्दका कारण यातायातका साधनहरु आंशिक रुपमा चलेका छन् भने बजार खुलेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्