झापा, फागुन २८ । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

फागुन २९ गतेदेखि तीन दिन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा प्रतियोगिता गर्न लागिएको लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए । प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाउने बताइएको छ । प्रतियोगिताका विजता टिमले नगद ५० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै द्वितीय हुने टिमले ३० हजार र तृतीय हुने टिमले सात हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र पाउने लायन्स क्लव अफ अनारमनीका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै भेट्रानतर्फ ४५ वर्षदेखि माथिका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितातामा प्रथम हुने टीमले ३० हजार , द्वितीयले १५ हजार र तृतीय हुने टिमले नगद पाँच हजारसहित ट्रफी र प्रमाणपत्र पाउने कार्यक्रम संयोजक लोरेन्स विष्टले बताए ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सभा सदस्य एकराज कार्कीले गर्ने बताइएको छ ।
चार वर्षदेखि प्रदेशस्तरीय प्रतियोगिता झापामा गरिदै आएको र एक वर्ष कोभिडका कारण प्रतियोगिता हुन नसकेको आयोजक समितिका कार्कीले बताए । यो वर्ष पुरस्कारको राशि वृद्धि गरिएको जनाइएको छ ।

प्रतियोगितामा झापासहित ताप्लेजुङ, पाँचथर, उदयपुर, इलाम, सुनसरीलगायतका जिल्लाबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता बिर्तामोड– ३ स्थित मेहरमान बहुउद्देश्यीय कवर्डहलमा आयोजना गर्न लागिएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित प्रतियोगिता आयोजना गरिएको लायन्स क्लव अफ अनारमनीका अध्यक्ष घिमिरेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्