झापा , फागुन ३० । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रका गुराँसलगायतका बोटविरुवा विज्ञापन प्रवद्र्धनार्थ साइनबोर्ड राख्न प्रयोग हुन थालेका छन् ।

विज्ञापन गर्ने उद्देश्यले बोटविरुवामा स-साना साइनबोर्ड राख्ने क्रम बढेको छ । पदमार्ग आसपासका गुराँसलगायतका बोटबिरुवामा होटल, पसल र फार्मका नाम र सम्पर्क नम्बरसहितका साइनबोर्ड जताततै देखिन्छन् । विभिन्न जिल्लाको होटल, पसल र फार्मका नाम तथा सम्पर्क नम्बर उल्लेख गरिएका बोर्ड देखिन्छन् । टिनका टुक्राटुक्रीमा विज्ञापनमूलक कुरा लेखेर धातुजन्य काँटीको प्रयोग गरी रुखमा भुण्ड्याउँदा बोटबिरुवा मासिने र प्राकृतिक सुन्दरता हराउने पाथीभरा क्षेत्रका होटल व्यवसायी बताउँछन् । धातुजन्य किला गाड्दा कतिपय बोटबिरुवा चाँडै मर्छन् भने कतिपय हुर्कनबाट बञ्चित हुने स्थानीय इन्द्रनारायण भट्टराईले बताए । संरक्षण गर्नुपर्ने गुराँसका बिरुवामा धातु वा टिनका किला गाडेर बोर्ड राख्नु गलत भएको उनको भनाइ छ । बोटबिरुवाका लागि धातुजन्य किला (काँटी) विष सरह हुन् । “फलामका किला गाड्दा बोटबिरुवा छोटो समयमै मर्नुका साथै हुर्कन र फस्टाउन पाउँदैनन्”, भट्टराईले भने ।

यसरी बोटबिरुवामा विज्ञापनसहितका साना बोर्ड राख्ने क्रम बढ्दै गए पनि नियन्त्रण नहुनु दुःखद् भएको पाथीभरा दर्शनका क्रममा आएका झापाका रमेश दाहालले बताए । सन्देशमूलक बोर्ड नै राखिए पनि काँटीको प्रयोगले बिरुवा मासिने र धार्मिक तथा पर्यटकीय क्षेत्रमा फोहरसमेत बढ्ने उनको भनाइ छ । बोर्ड अड्याउन प्रयोग भएका काँटी र बोर्ड मक्किएर जमिनमा झरेपछि फोहोर बढ्छ । प्राकृतिक सुन्दरतासमेत हराउने गरी यसरी भएका गलत काम रोक्न जरुरी भएको पाथीभरा दर्शन गर्न आउने तीर्थयात्री बताउँछन् । पाथीभरा क्षेत्रमा काम गरिरहेका विभिन्न सङ्घसस्थाले यसलाई रोक्न विगतदेखि नै प्रयास गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेको भनाइ छ । यसबारे पहल भइरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्