झापा , चैत्र १ । भारतीय चर्चित हिपहप गायक हनी सिंह नेपाल आउने भएका छन् ।

सिंह चैत २५ गते (अप्रिल ८) काठमाडौंको बौद्धस्थित होटल हयात रिजेन्सीको साङ्गीतिक कार्यक्रममा सहभागी हुने छन्। युनिफाई नेपालको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सिंह सहभागी हुने आयोजकले जनाएका छन् । हयातमा हुने उनको कार्यक्रमको टिकटको मूल्यसम्बन्धी सबै जानकारी ई-सेवामा राखिएको युनिफाई नेपालका रविन श्रेष्ठले जानकारी दिए। ‘साधारण टिकटको १ हजारदेखि माथि र भिआइपी टिकटको २ हजार रूपैयाँभन्दा बढी हुन सक्नेछ, अहिले सम्पूणर् टिकटको मूल्य निश्चित भइसकेको छैन,’ उनले भने, ‘प्रि-बुकिङका लागि सम्पूणर् टिकट ई-सेवाबाट प्राप्त गर्न सकिन्छ ।’ सिंहका ब्लु आइज, धीरे धीरे र चार बोतल भोडका लगायतका गीतहरू चर्चित छन्। उनले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्ना चर्चित गीतहरूको प्रस्तुत गर्ने जानकारी श्रेष्ठले दिए। युनिफाई नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जितसँगको भेटमा सिंहले नेपाल जान आतुर रहेको बताएका थिए। ‘नेपाल भारतको छिमेकी मुलुक भएकाले पनि मलाई धेरै मनपर्छ, चाँडै नेपाल आउँदैछु,’ सिंहको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने। सिंह भारतमा संगीत कम्पोजर, र्‍यापर, गायक, गीतकार र अभिनेताका रुपमा समेत परिचित छन्। उनले सन् २००३ देखि रेकर्डिङ कलाकारको रूपमा आफ्नो करियर सुरु गरेका थिए। उनले भांँगडा र हिप हप गीत पनि गाएका छन्। सिंह आफ्नै गीतले सफल भएपछि उनले बलिउडका लागि पनि गीत गाएका छन्। सन् २०१२ मा पन्जाबी फिल्म ‘अनटोल्ड स्टोरी’ मा उनले अभिनय गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्