झापा , चैत्र ५ । मिटर ब्याजका पीडितहरू आन्दोलन गर्नका लागि हिँडेर काठमाडौँ जाँदै छन् ।

‘तमसुक व्यवस्था खारेज गर’ भन्ने नाराका साथ बर्दिबासदेखि हेटौँडा हुँदै काठमाडौँसम्म मिटर ब्याजविरुद्ध पीडितहरू हिँडेर काठमाडौँ गईरहेका छन् । चैत २ गते बर्दिबासबाट सुरु भएको सो यात्रा चैत १६-१७ गतेसम्म काठमाडौँ आइपुग्ने मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका मनोजकुमार पासवानले बताए । ७० जनाबाट सुरु भएको यो यात्रामा पीडितहरू थपिँदै गइरहेका छन् । बाटोमा पनि पीडितहरू थपिँदै गइरहेका छन् । काठमाडौँसम्म पुग्दा दुई तीन सय पुग्ने अनुमान आफूले गरेको उनले बताए । ७० जनामध्ये ४७ जना महिला छन् । त्यसमा धनुषाकी कल्पना माझीले चार महिनाको बच्चा काखमा लिएर हिँड्दै जाँदै छिन् । स्थानीय साहु महाजनबाट पीडितहरूले त्यहाँ जिल्ला तथा स्थानीय स्तरमा आन्दोलन गर्दा कुनै सुनुवाइ नभएपछि यसको खालको कठोर आन्दोलन सुरु गरिएको पासवानले बताए । स्थानीय साहुबाट ब्याजमा रकम लिँदा समयमा नबुझाएको कारण अपहरण गर्ने धम्की आएपछि सिराहाका गरिमा राय स्कुल पढाउन छाडेर घरमा बसेकी थिइन् । मिटर ब्याज विरुद्ध आन्दोलन गर्न काठमाडौँ जाने भनेपछि उनी पनि हिँडेर जान थालेकी छिन् । उनीहरू काठमाडौँ जाँदा बाटोमा पनि कोणसभा, अन्तर संवाद, नारा, र्‍याली जस्ता कार्यक्रमहरू गर्दै आइरहेका छन् । रातीको बास सार्वजनिक ठाउँमा हुने गरेको छ, जहाँ सार्वजनिक ठाउँ पाउँदैनन् त्यहाँ टेन्ट राखेर बस्ने गरेका छन् । उनीहरू आफै खाना पकाएर खाने गरेका छन् । मनोज पासवान भन्छन्, ‘न्याय नपाएसम्म काठमाडौँमा हाम्रो आन्दोलन जारी रहनेछ ।’ पीडितहरू हिँडेर काठमाडौँ पुगीसकेपछि थप पीडितहरू बस चढेर काठमाडौँ जाने छन् । दाल, चामलदेखि लिएर खाना पकाउने अन्य सामाग्रीहरू लिएर काठमाडौँमा बसी आन्दोलन गर्ने तयारीका साथ पीडितहरूले यात्रा तय गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्