झापा, चैत ५ । कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रदेशको नामप्रति असहमत समूहले आज विराटनगरमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि सुरक्षामा असर पार्न सक्ने भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ । सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क बमोजिम निषेध गरिएकाले जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यो आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

प्रदेश नंं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा महेन्द्रचोकमा दिउँसो १ बजे प्रदर्शन गर्ने आन्दोलनकारीको कार्यक्रम छ । कार्यक्रममा गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायत पहिचान पक्षधर नेताहरुको सम्बोधन हुने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्