झापा , चैत ६ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद पाठकले राजश्व संकलनको लागि परीक्षण भन्दै पूर्वी नाकामा एशियन हाइवे नै बन्द गराएका छन् ।

बन्द गरिएको एशियन हाइवे

मुख्य राजमार्ग नाका बन्द गरी यात्रु शाखामा प्रवेश गराएर चेकजाँच गर्दा यात्रुहरुलाई समस्या भएको छ । भारतबाट आउने यात्रुहरुलाई मुख्य एशियन हाइवेमा चेकजाँच नगरी उत्तरपट्टी यात्रु शाखामा प्रवेश गराई चेकजाँच गर्दा झन्झटिलो भएको उनीहरुले बताएका छन् । भारतबाट चारचक्के र दुईचक्के सवारीसाधनमा आउने नेपाल र भारतका सबै यात्रुहरुलाई उत्तरपट्टी भन्सार कार्यालयको हाताभित्र प्रवेश गराई त्यहाँ चेकजाँच गरिसकेपछि सुपारी लाइन हुँदै देवकोटा पार्क निकाल्ने गरिएको छ । यसअघि हाइवेमै चेकजाँचको व्यवस्था रहेकोमा पाठकले तीन दिनअघिदेखि सो नयाँ नियम लागू गरेका हुन् । यात्रु शाखामा यात्रुहरुलाई प्रवेश गराई चेकजाँच गर्ने नयाँ नियम लागू गरिएपछि धेरै समय लाग्ने र घुमेर जानुपर्ने झन्झट भएको उनीहरुको गुनासो छ । यात्रु शाखामा थालिएको चेकजाँचप्रति यात्रुहरुले आपत्ति जनाएको चेकजाँचमा खटिएका सुरक्षाकर्मीहरु नै बताउँछन् । ‘हाइवेमा हुँदा सजिलो थियो भनेर उहाँहरु भन्नुहुन्छ ’सशस्त्रका सईले भने,‘ यात्रु शाखा आउँदा उहाँहरु झन्झट मान्नुहुन्छ ।’

यात्रु शाखामा चेकजाँच गर्दै प्रहरी

यसअघि नेपालतर्फ मेची पुलमा सशस्त्र प्रहरीले चेक गरिसकेपछि भन्सार कार्यालय छेउ बाटोमा प्रहरीसहित भन्सार कर्मचारीहरुले चेकजाँच गर्ने गरेका थिए । अहिले तीनचक्के सवारीसाधनहरु हाइवेबाट संचालन भइरहेका छन् । भन्सार प्रमुख पाठकले तीन चक्के सवारीसाधनलाई पनि हाइवेबाट चल्न नदिने भएका छन् । उनले दक्षिणपट्टी यार्डबाट तीन चक्के सवारीसाधन जानेगरी व्यवस्था मिलाउन थालेका छन् । यात्रुहरुलाई दुःख दिने नियतले नभई राज्यको लागि राजश्व बढीभन्दा बढी संकलन गर्ने उद्धेश्यले सो नियम बनाएको भन्सार प्रमुख पाठकले प्रतिक्रिया दिएका छन् । उनले सीधा हाइवेबाट ओहोरदोहोर गर्न नपाउँदा पोके व्यापारीहरुको व्यापार घट्ने बताए ।‘ दिनमा १० चोटी ओहोरदोहोर गर्नेहरु पाँच पटकमा झर्छन् ’उनी भन्छन् । आफूले परीक्षणका लागि त्यस्तो नियम लागू गरेको भन्सार प्रमुख पाठकको भनाई छ ।

त्यस विषयमा आफूलाई पनि गुनासो आएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले धेरै झन्झटिलो भए यात्रु शाखामा चेकजाँच गर्ने व्यवस्था हटाउन भनिसकेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्