झापा, चैत ६ । साविक मेची अंचलको पुरानो र ठूलो क्याम्पस मेची बहुमुखी क्याम्पस भद्रपुरमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका सन्देश धमलाले सभापति पद जितेका छन् ।

उनले नेपाल विद्यार्थी संघका किशोर ढुंगानालाई १३० मतको अन्तरले पराजित गरेका हुन् । धमलाले ९६० मत ल्याउँदा ढुंगानाले ८३० मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुकै विदन राई विजयी भएका छन् । राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेविसंघका भिष्म घिमिरेले ९३३ मत पाएका छन् । कोषाध्यक्षमा भने नेविसंघका निलम कार्की विजयी भएका छन् । उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका अनिल चौहानले ७२७ मत पाएका छन् । त्यस्तै अनेरास्ववियुले दुईवटा सदस्य जित्दा नेविसंघले पाँचवटा सदस्य पद जितेको छ । अनेरास्ववियुका तर्फबाट अनुषा भण्डारी ९३६ , उदेश्य भण्डारी १०७७ , नेविसंघका तर्फबाट सौरभ ओस्ती ९७२ , प्रजिन खतिवडा १००४ , भिमार्जुन गिरी ९४३ , प्रतिक शाह रौनियार १००१ र विवेक ढकाल ९६५ मत ल्याई निर्वाचित भएका छन् । मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको हो । ।कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठनलगायतले दुईवटा प्यानल बनाउँदा नेपाली कांग्रेसनिकट नेविसंघ एक्लै निर्वाचनमा होमिएको थियो । नेकपा एमालेनिकट अनेरास्ववियु र राप्रपानिकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए । अनेरास्ववियु प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादीनिकट अनेरास्ववियुले अर्को प्यानल बनाएका थिए । नेविसंघले सिंगल उम्मेदवारी दिएको थियो । यस पटक मेची क्याम्पसमा २० औं कार्यकालका लागि स्ववियु निर्वाचन भएको हो । १९ पटकसम्मको निर्वाचनमा चार पटक मात्र नेपाल विद्यार्थी संघले जितेको थियो भने १५ पटक अनेरास्ववियुले जीत हासिल गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्