बिर्तामोड, चैत ६ । आज साँझ बिर्तामोडमा अनियन्त्रित कारले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना गंभीर घाइते भएका छन् ।

साँझ ७.३० बजेतिर बिर्तामोड ६ स्थित सिटी सेन्टरअगाडि राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १९ च ३००९ नं को कारले उत्तरबाट दक्षिणतर्फ बाटो काट्दै गरेको प्रदेश १–०१–१४प ६०८२ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक पाँचथर फाल्गुनन्द ५ बस्ने ३६ वर्षिय महेन्द्र कुरुम्वाङ र पछाडि सवार याङवरक ३ बस्ने १९ वर्षिय नारायण सेरिङ गंभीर घाइते भएका हुन् । उनीहरुको बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

मोटरसाइकललाई ठक्कर दिइसकेपछि अनियन्त्रित सो कारले पार्किङ गरिराखेको मे १ ह६०७५ र मे १ ह १८९३ नं को दुईवटा अटोलाई समेत ठककर दिएको थियो । अटोमा पनि क्षति पुगेको छ । दुर्घटनापछि कार र कार चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्