झापा,चैत ७ । चैत ५ गते झापाका १० वटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । ती दशवटा क्याम्पसमध्ये पाँचवटामा नेकपा एमालेनिकट अनेरास्ववियुले र पाँचवटामा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले सभापति पद जितेका छन् ।

अनेरास्ववियुले मेची बहुमुखी क्याम्पस भद्रपुर , कन्काई बहुमुखी क्याम्पस सुरुङ्गा ,गौरीगञ्ज बहुमुखी क्याम्पस गौरीगञ्ज , गौरादह कृषि क्याम्पस गौरादह र सितारमेश क्याम्पस बुद्धशान्तिमा सभापति पद जितेको हो भने नेविसंघले दमक बहुमुखी क्याम्पस दमक, कन्काई आदर्श क्याम्पस बिर्तामोड , इन्द्रचन्द्र क्याम्पस बिर्तामोड , शनिश्चरे बहुमुखी क्याम्पस शनिश्चरे र त्रिदेव क्याम्पस मेचीनगरमा सभापति पद जितेको छ ।सबैभन्दा पछि मतपरिणाम सार्वजनिक भएको दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघले जितेको छ । सचिव पद पनि नेविसंघले जितेको त्यस क्याम्पसमा कोषाध्यक्ष अखिल क्रान्तिकारीले जितेको छ । खुला सदस्यतर्फ नेविसंघ र अनेरास्ववियु प्यानलका ४ – ४ जना विजयी भएका छन् ।
मेची बहुमुखी क्याम्पसमा अनेरास्ववियुले सभापति र सचिव जित्दा कोषाध्यक्ष भने नेविसंघले पाएको छ । त्यहाँ अनेरास्ववियुले दुई वटा खुल्ला सदस्य जित्दा नेविसंघले पाँच वटा सदस्य पद जितेको छ।

बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा नेविसंघको सिंगो प्यानल नै विजयी भएको छ । त्यस्तै बिर्तामोडको अर्को क्याम्पस इन्द्रचन्द्र क्याम्पसमा स्ववियुका सम्पूर्ण पदाधिकारीसहित चारवटा सदस्य पद नेविसंघले जित्दा अनेरास्ववियुले दुईवटा सदस्य पद मात्र जितेको छ ।
त्यस्तै बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापति र सचिवसहित दुईवटा सदस्य पद जितेको छ भने कोषाध्यक्षसहित तीनवटा सदस्य नेविसंघले पाएको छ । त्यस्तै मेचीनगरको त्रिदेव क्याम्पसमा नेविसंघले सभापति , सचिव र दुईवटा सदस्य पद जितिरहँदा अनेरास्ववियुले कोषाध्यक्षसहित पाँचवटा सदस्य पदमा विजय हासिल गरेको छ । शनिश्चरे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनका तर्फबाट नेविसंघले सभापतिमा जित्दा सचिव अखिल क्रान्तिकारीले पाएको छ ।

त्यस्तै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति अनेरास्ववियुले जितेको छ । त्यहाँ सिंगल प्यानल बनाएर निर्वाचन लडेको अनेरास्ववियुले सभापति , कोषाध्यक्ष र पाँचवटा सदस्य पद जितेको छ भने गठबन्धन बनाएर निर्वाचन लडेको नेविसंघले सचिव र एउटा सदस्य पदमात्र जितेको छ ।

त्यस्तै गौरीगञ्ज बहुमुखी क्याम्पस र गौरादह कृषि क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएका छन् । जिल्लाका १३ वटा क्याम्पसमध्ये चैत ५ गते १० वटामा निर्वाचन भएको हो । काँकडभिट्टा बहुमुखी क्याम्पस र गौरादह बहुमुखी क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । गरामनी क्याम्पसमा अनेरास्ववियु निर्विरोध निर्वाचित भएको क्याम्पस प्रशासनले दावी गरिरहँदा अन्य विद्यार्थी संगठनहरुले त्यसलाई स्वीकार गरेका छैनन् । क्याम्पसमा अन्य विद्यार्थी संगठनहरुले लगाएको तालाबन्दी यथावत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्