एजेन्सी । अफगानिस्तानको सहर जुर्म भन्दा ४० किलोमिटर दक्षिणपूर्वमा पाकिस्तान र ताजकिस्तानको सीमा नजिक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी कम्तिमा १३ जनाको मृत्यु भएको छ ।

६.५ म्याग्निच्युडको भूकम्पमा परी दर्जनौँ मासिसहरू घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस भएको बताइएको छ । उत्तरपश्चिमी पाकिस्तानमा भूकम्पबाट कम्तिमा ९ जनाको ज्यान गएको र ४४ जना घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन् । मंगलबार राति करिब साढे १० बजेतिर गएको भूकम्पपछि उत्तरी खैबर पख्तुनख्वा प्रान्तका अस्पतालहरूलाई रातभर आपतकालीन अवस्थामा राखिएको थियो । अफगानिस्तानमा कम्तिमा चारजनाको मृत्यु भएको र ५० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएको छ । भूकम्पको धक्का भने भारत, पाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान, काजाकिस्तान, किर्गिजस्तान, अफगानिस्तान र तुर्कमेनिस्तानका करिब २८ करोड भन्दा बढी मानिसले महसुस गरेको युरोपेली भूमध्य भूगर्भ केन्द्रले जनाएको छ । पाकिस्तानको मौसम विभागले भूकम्पको ६.८ म्याग्निच्युडको र ३.७ म्याग्निच्युडको पराकम्पको टिपोट गरेको छ । पाकिस्तानमा १० वर्षीया बालिका र २४ वर्षीय पुरुषसहित ९ जनाको मृत्यु भएको र २० भन्दा बढी घरमा क्षति भएको उद्धार सेवाका प्रवक्ता बिलाल फैजीले बताएका छन् । मंगलबार राति करिब साढे दश बजेतिर भूकम्प गएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भूकम्पपछि विपद् व्यवस्थापन विभागका अधिकारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् । गत वर्ष २०२२ को जुनमा पूर्वी अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्पमा परी एक हजार बढीको ज्यान गएको थियो । सन् २००५ मा उत्तरी पाकिस्तानमा गएको ७.६ म्याग्निच्युडको भूकम्पले कम्तिमा ७३ हजारको ज्यान लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्