झापा, चैत १० । घरेलु टिम विराटनगर सिटी सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गर्दै सेमिफाइनलमा पुगेको छ ।
सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै घरेलु टोली विराटनगरले अन्तिम चारमा स्थान पक्का पारेको हो ।जितमा विराटनगरका आशिष श्रेष्ठ नायक भए । निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि थप गरिएको अतिरिक्त समयको १ सय १७ औँ मिनेटमा विराटनगरका आशिष श्रेष्ठले निर्णायक गोल गरे । दिवाकर चौधरीले निकालिदिएको पासलाई आशिषले गोलमा परिणत गरे । खेलको १ सय ३ मिनेटमा सागर थापाको ठाउँमा मैदान प्रवेश गरेका आशिषले टिमको जितका लागि निर्णायक गोल गरेका हुन् ।
पहिलो हाफसम्म पुलिसले विराटनगरलाई दबाबमा राखेको थियो । निर्धारित समयसम्म प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो । पूर्व विजेता प्रहरीले दर्जनबढी सुन्दर अवसर खेर फाल्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।
प्रतियोगिताको म्यान अफ द म्याच विराटनगरका उत्सव राई घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पाए ।शुक्रवार नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।गोल्डकपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए ।