झापा , चैत्र १० । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ ।

प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धान, मकै, जौ, गहुँ र कोदो समेटिनेछ । यी खाद्यान्न बालीको बीमालेखले विभिन्न आठ प्रकारको क्षतिको रक्षावरण गर्नेछ, जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङजन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति परेका छन् । बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ । अतिरिक्त सुविधाअन्तर्गत खाद्यान्न बाली बीमा गराएका बीमितले २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा पाउनेछन् । बीमा अवधिमा आत्महत्याबाहेक अन्य कुनै पनि कारणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुवै हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, एक वा दुवै खुट्टाको गोलीगाँठोदेखि माथि काम नलाग्ने भएमा र दुवै आँखाको दृष्टि गुमेमा बीमकबाट बीमितले २ लाख रुपैयाँ भुक्तानी पाउनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्