झापा , चैत १० । कोशी प्रदेशका तीन जिल्ला क्षयरोग संक्रमणको उच्च जोखिममा रहेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार भद्रपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले कोशी प्रदेशका झापा,मोरङ र सुनसरी क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् ।

हरेक वर्ष क्षयरोगीको संस्था बढ्ने क्रममा छ । आर्थिक २०७७÷७८ मा झापामा ९९२, मोरङमा ९६२ र सुनसरीमा ८८९ नयाँ बिरामी फेला परेका थिए । आर्थिक २०७८÷७९ मा झापामा ११८३, मोरङमा १२६२ र सुनसरीमा १०६० बिरामी फेला परेको अधिकृत श्रेष्ठले बताए ।
क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवाकेन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ ।

यता झापाका १५ वटा पालिकामध्ये मेचीनगर, दमक र बिर्तामोड क्षयरोग संक्रमणको जोखिम पालिकामा पर्छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को फागुनसम्म मेचीनगरमा ११७, दमकमा ८९, बिर्तामोडमा ७६, भद्रपुरमा ६५, अर्जुनधारामा ५४ नयाँ बिरामी फेला परेको तथ्याङ्कमा छ । आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा १४ जनाको क्षयरोगबाट मृत्यु भएको थियो ।

भद्रपुरमा डिआर सेन्टर स्थापना

स्वास्थ्य निर्देशनालय धनकुटाले भद्रपुर–८ स्थित क्षयरोग निवारण संस्थामा डिआर सेन्टर सञ्चालनमा ल्याएको छ । प्रादेशिक अस्पताल भद्रपुरको पहलमा स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको सन्दर्भमा पारेर डिआर सेन्टर सञ्चालनमा ल्याएको हो ।
यसअघि कोशी प्रदेशमा विराटनगर,धरान र ओखलढुङ्गामा डिआर सेन्टर सञ्चालनमा आइसकेको छ । साविक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङका क्षयरोगी बिरामीको सुविधालाई मध्यनजर गरी डिआर सेन्टर सञ्चालनमा ल्याइएको हो ।
डीआर सेन्टर सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री र उपकरण स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको छ भने प्रादेशिक अस्पतालले चिकित्सकसहितको जनशक्ति खटाएको जनाइएको छ । डीआर सेन्टर सञ्चालनमा आएसँगै औषधि प्रतिरोधी क्षयरोग बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने प्रादेशिक अस्पतालका मेसु डा.टंकप्रसाद बाराकोटीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्