झापा, चैत ११ । इटहरी गोल्डकपको उपाधिका लागि सगरमाथा युथ क्लब र चर्च व्बाइज भिड्ने भएका छन् ।

अन्तिम प्रतिस्पर्धा गर्ने दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । इटहरी रंगशालामा शुक्रबार भएको प्रि—म्याच कन्फ्रेन्समा दुवै टोलीले विपक्षी तगडा भए पनि कप लिएरै फर्कने आत्मविश्वास प्रकट गरेका छन् ।

फाइनल खेलमा आफ्नो रणनीति प्रभावकारी रहने दाबी गरेका उनीहरूले विपक्षीलाई कमजोर नआँक्ने बताए । सगरमाथाका प्रशिक्षक याम गुरुङले आफूहरू डिफेन्डिङ च्याम्पियन भएकाले पनि उपाधि जित्नै पर्ने दबाबमा रहेको बताए । नेपाली महिला यू—२० को मुख्य प्रशिक्षकसमेत रहेका गुरुङले चर्च ब्वाइजको शक्तिशाली डिफेन्स लाइन चिर्न रणनीतिहरू परिवर्तन नगर्ने संकेत गरे । कप्तान महेन्द्र कार्कीले फाइनल खेलमा परिचित प्रतिद्वन्द्वी भएकाले केही सहज रूपमा लिए पनि सतर्क भएर खेल्ने बताए । यसै वर्ष ‘ए’ डिभिजन लिगमा उक्लिएको चर्च ब्वाइज मोफसलको कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो । चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले फाइनल भएकाले स्वाभाविक रूपमै प्रतिस्पर्धात्मक खेल हुने बताए । टिमवर्कले फाइनलमा पुगेको औंल्याउँदै हुमागाईंले सबै खेलाडी तन्दुरुस्त रहेकाले जितप्रति विश्वस्त रहेको बताए । कप्तान मिलन राईले विजय लक्ष्यका साथ मैदानमा उत्रने बताए । उनले खाली समयमा मोफसलको प्रतियोगिता आयोजनाले लिगलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चर्च ब्वाइजले पहिलो खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएको थियो भने सेमिफाइनलमा विभागीय टोली आर्मीविरुद्ध जित निकालेको थियो । जम्मा ८ टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । विभिन्न विधामा उत्कृष्ट हुनेले नगद २० हजार पाउनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्