झापा , चैत्र १२ । संखुवासभाको चैनपुरस्थित सरस्वती माविले विद्यालयको भौतिक एवं शैक्षिक प्रगतिका लागि एक रुपैयाँ सहयोग अभियान सञ्चालन गरेको छ ।

माविका प्रधानाध्यापक उज्ज्वल कर्माचार्यले अभिभावकबाट संकलित यो रकम बैंकमा खाता खोलेर जम्मा गरिएको बताए । विद्यालयमा ३ सय ७० विद्यार्थी अध्ययनरत छन् । फरक क्षमता र बौद्धिक अपांगता भएकाहरूसमेत पढ्दै छन् । अहिले १ सय बढी अभिभावकबाट दैनिक १ रुपैयाँका दरले रकम जम्मा गरिंदै आएको विद्यालयले जनाएको छ । हालसम्म करिब १ लाख ३६ हजार संकलन भइसकेको छ । ‘रकम संकलन भएपछि सुविधायुक्त भवन निर्माण गर्ने लक्ष्य लिइएको छ,’ उनले भने, ‘त्यसमा पनि आजीवन सदस्य बनाएर रकम संकलन गर्न खोजिरहेका छौं ।’ विद्यार्थीको पढाइको स्तर राम्रो भएको प्रधानाध्यापक कर्माचार्यले दाबी गरे । जिल्ला भरका ६२ माविमध्ये यो विद्यालय २६ औं स्थानमा आएको पनि उनले बताए । २०१५ सालमा स्थापित यो विद्यालयले विभिन्न आरोह अवरोहबीच आधारभूत तह सञ्चालन गर्दै आए पनि माध्यमिक तह भने निजी स्रोतबाट सञ्चालन गरिरहेको छ । कक्षा ६ देखि ८ सम्म राहत शिक्षकबाट सञ्चालन गरिएको छ । कक्षा ९ र १० भने सरकारले व्यवस्था गरेको शिक्षण सिकाइ अनुदानबाट सञ्चालन छ । त्यहाँबाट प्राप्त सहयोगबाट गणित, विज्ञान र अंग्रेजीका शिक्षक राखिएको छ । कक्षा ६ देखि १० सम्म प्रस्तावित माविको रूपमा सञ्चालनमा छ । अहिलेसम्म विद्यालयले ११ औं पटक एसईई परीक्षामा विद्यार्थी सामेल गराइसकेको छ ।

‘माध्यमिक तह निजी स्तरबाट सञ्चालन भइरहँदा विद्यालयलाई आर्थिक भार थपिरहेको छ,’ उनले भने, ‘भौतिक विकासका कामसमेत हुन सकेको छैन, सबैको सहयोग चाहिएको छ ।’
विद्यालयको वार्षिक आम्दानी र खर्च १ करोड ३७ लाख ५५ हजार हुने गरेको कर्माचार्यले बताए । विद्यालयमा स्वास्थ्य इकाइअन्तर्गत १ दरबन्दीको व्यवस्था छ । शिक्षक एवं विद्यार्थीलाई स्वस्थ रहन आवश्यक सल्लाह सुझाब र औषधोपचारको समेत व्यवस्था गरिएको छ । विद्यालयमा विभिन्न दाता, शिक्षासेवी र अभिभावकहरूबाट १३ वटा छात्रवृत्ति अक्षयकोष र एउटा विकास कोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । ‘विद्यालयको समग्र विकासका लागि अभिभावक, विद्यार्थी, विद्यालय एकजुट हुन आवश्यक छ,’ उनले भने, ‘बालबालिकाको बौद्धिक विकासका साथै सामाजिकीकरण तथा सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापसमेत विद्यालयले सञ्चालन गरिरहेको छ ।’ वार्षिक रूपमा छात्रछात्रालाई हौसला दिन छात्रवृत्ति वितरण र विभिन्न समयमा गरिएको खेलकुद प्रतियोगिताका सफल विद्यार्थीलाई दाताबाट संकलित रकमबाट पुरस्कार प्रदान गर्ने गरिएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्