झापा , चैत्र १५ । दुबईमा मृत्यु भएका सिराहाका सन्तोषकुमार यादवको शव नेपाल ल्याउने तयारी भएको छ ।

स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको र त्यो सकिएपछि नेपाल ल्याइने बताइएको छ । त्यसका लागि प्रहरीले बढीमा तीन दिनको समय मागेको छ । उनको मृत्यु सामान्य नभएकाले प्रहरीले अनुसन्धान गरेर मात्र शव हस्तान्तरण गर्न लागेको हो । त्यसका लागि दुबईस्थित गैर आवासीय मधेशी संघ युएई (एनआरएमए) ले आवश्यक पहल थालिरहेको छ । दुबईस्थित फरेन्सिक विभागमार्फत उनको अनुसन्धान अन्तिम चरणमा पुगेको संघले जनाएको छ । यादवको टाउकोमा पानी जमेको र उपचारको क्रममा मृत्यु भएको रिपोर्ट दिइएको छ । तर, मृतक कति दिनदेखि विरामी थिए भन्ने रिपोर्ट उपलब्ध नभएका कारण शव नेपाल पठाउन ढिलाई भइरहेको एनआरएमए दुबईका कोषाध्यक्ष सदाम अन्सारीले जानकारी दिए । कति दिनदेखि विरामी थिए भन्ने रिपोर्ट आउन ढिलाई भएकाले शव हस्तान्तरण गर्न ढिलाइ भएको जानकारी दुबईस्थित फरेन्सिक विभागमा प्रमुखले दिएको उनको भनाइ छ । दुबईस्थित नेपाली दूतावासले उपलब्ध गराएको पत्रमा उनको मृत्यु कारण,- septic shock, intracranial abscess granuloma उल्लेख गरिएको छ । शव हस्तान्तर गरेपछि शव नेपाल पठाउने गरी तयारी गरिएको उनको भनाई छ । सिराहाको धनगढीमाई नगरपालिका-६ कट्टीटोलका यावदको गत २२ पुसमा निधन भएको थियो । उनको शव ५६ दिनदेखि दुबईस्थित फरेन्सिक विभागमा राखिएको छ । दूतावासबाट बनाउनुपर्ने आवश्यक कागजात समेत बनिसकेको उनको भनाइ छ । गत वर्षको कात्तिकमा उनी दुबई पुगेका थिए । भिजिट भिसा मार्फत दुबई पुगेका यादव काम गर्ने क्रममा एकाएक ढलेका थिए । अस्पताल लगेर उपचार गरेपछि निको भएर घर फर्किएका थिए । काम गर्ने क्रममा पुनः केही दिनपछि एकाएक बेहोस भएर लडेका थिए । टाउकोमा पानी जमेका कारण अप्रेशन गर्नुपर्ने भनिएको थियो । अप्रेशन गरेर केही दिन अस्पतालको निगरानीमै रहेका बेला उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्