एजेन्सी । चलचित्र अभिनेत्री प्रियंका चोपडाले एक अमेरिकी पोडकास्ट कार्यक्रममा हिन्दी फिल्म उद्योग छोड्नुको कारण बताइन् ।

उक्त कार्यक्रममा उनले हिन्दी फिल्म उद्योगको राजनीतिबाट आफु दिक्क भएको दाबी गरेकी छिन् । साथै, उनी बलिउडबाट आएका कामबाट सन्तुष्ट थिइनन्। अमेरिकी साप्ताहिक पोडकास्ट कार्यक्रम ‘आर्मचेयर एक्सपर्ट’का होस्ट ड्याक्स शेफर्ड र मोनिका प्याडम्यानसँगको कुराकानीमा प्रियंका चोपडा जोनासले धेरै विषयमा कुरा गरेकी छिन् । यस कार्यक्रममा उनले बलिउडदेखि हलिउडसम्मको यात्रा, भारत छाडेर अमेरिका बस्ने, निक जोनससँगको प्रेम सम्बन्ध, पुरुष कलाकारको तुलनामा कम पैसा पाउने जस्ता धेरै विषयमा आफ्ना अनुभव बाँडिन् । उनले अभिनयदेखि गायनसम्मको आफ्नो यात्राको बारेमा पनि बताइन् । चोपडाले आफू बलिउडबाट बाहिरिने बाटो खोजिरहेको बताइन् । यस्तो अवस्थामा संगीतकै कारण उनले विश्वका अन्य भाग घुम्ने मौका पाइन् । बलिउडमा आफूले पाएको कामबाट आफू सन्तुष्ट नभएको उनको दाबी छ । यस्तो अवस्थामा गीत गाउने मौका पाएपछि बलिउड छोडेर अमेरिका गइन् । उनले सन् २०१२ मा ‘इन माई सिटी’ बाट आफ्नो गायन करियर सुरु गरेकी थिइन् । चोपडाले सन् २०१८ मा अमेरिकी गायक तथा अभिनेता निक जोनाससँग विवाह गरिन् र त्यहीँ बसिन्। गत वर्ष उनी आमा बनिन् । प्रियंकाको यो भनाइपछि प्रियंका चोपडासँग ‘फेशन’ मा काम गरेकी अभिनेत्री कंगना रनौतले करण जोहरमाथि आरोप लगाएकी छन् । कंगनाले भनिन्, ‘बलिउडका बारेमा प्रियंका चोपडा भन्छिन् कि मानिसहरूले उनलाई गिरोह बनाएर उत्पीडन गरे र उनलाई फिल्म उद्योगबाट निकालिदिए। एक ‘सेल्फ मेड’ महिलालाई भारत छोड्न बाध्य पारियो। करण जोहरले उनलाई प्रतिबन्ध लगाएको सबैलाई थाहा छ ।’ अर्को ट्विटमा उनले लेखेकी छन्, ‘अमिताभ बच्चन वा शाहरुख खानको समयमा बाहिरका मानिससँग कहिल्यै शत्रुता नभएको फिल्म उद्योगको संस्कृति र वातावरणलाई नष्ट गर्नका लागि यो मतलबी मानिसलाई जिम्मेवार ठहराउनुपर्छ ।’ कंगना रनौतले भनिन्, “उनीहरूको गिरोह र माफिया पीआरमा छापा मार्नु पर्छ र उनीहरूलाई बाहिरीहरूलाई समस्यामा पार्ने जिम्मेवार मान्नुपर्छ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्