झापा, चैत १५ । सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले दलहरूबीच मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो ।
बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ ।
यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन । यस्तै बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरी मन्त्रीहरूलाई शपथग्रहण पनि गराउने तयारी भएको श्रेष्ठले जानकारी दिए ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि बिहीबारसम्ममा सरकारको साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारको साझा न्यूनतम कार्यक्रमले बिहीबारसम्ममा अन्तिम रुप प्राप्त गर्ने बताएका हुन् । उनले कार्यक्रमको मस्यौदा सत्तारुढ गठबन्धनका नेताहरुसमक्ष पुगेको र आवश्यक संशोधनका लागि बुधवार साँझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए ।
‘न्युनतम कार्यक्रम बनिराखेको छ । साझा न्यूनतम कार्यक्रममा काम भइराखेको छ । हामीले ड्राफ्ट गरिसकेका छौं । त्यो ड्राफ्ट प्रस्तुत भएको छ सरकारसँग जोडिएका दलहरुका नेताहरुका बीचमा । बुधवार पाँच बजेसम्ममा कसैको त्यसमा संशोधन, केही कुरा थप्नुपर्ने, केही कुरा झिक्नुपर्ने, केही सुधार गर्नुपर्ने कुरा भयो भने गर्ने । बिहीवारसम्ममा साझा न्यूनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ ’उनले भने । उनले नयाँ मन्त्रीहरुको शपथ पनि चाँडै हुने बताए ।

यसैबीच एकीकृत समाजवादीले वेदुराम भुसाल र प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभामा दलका नेता रहेका भुसालको नेतृत्वमा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रकाश ज्वाला सरकारमा सहभागी हुने भएका हुन् ।
पार्टीको पदाधिकारी बैठकले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । यद्यपि उनीहरूलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे यकिन भइसकेको छैन ।
उपाध्यक्ष भुसालले पार्टीले दुवै जनालाई सरकारमा पठाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘मलाई र प्रकाश ज्वालालाई सरकारमा पठाउने निर्णय भएको छ । प्रधानमन्त्रीकहाँ नियुक्तिका लागि नाम पठाउने निर्णय भएको हो ।’
एकीकृत समाजवादीले तीन मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएकोमा अन्तिममा दुई मन्त्रालयमा सहमति जुटेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्