झापा, चैत्र १६ । वनमा लागेको डढेलो बस्तीमा सल्कँदा धनकुटाको महालक्ष्मी नगरपालिका-६ स्थित छुम्लिङमा बुधबार दुई घर जलेर नष्ट भएका छन् ।

हर्सिदी वनमा लागेको डढेलो छुम्लिङ गाउँमा सल्किएको प्रहरीले जनाएको छ । आगोले स्थानीय हिरा कार्की र कमल सुवेदीको घर जलेको छ । दिउँसोदेखि लागेको डढेलो साँझसम्म नियन्त्रण बाहिर रहेकोले धनकुटाबाट दमकलसमेत पठाइएको प्रहरीको भनाइ छ । प्रहरी , स्थानीयवासीसहितको प्रयासले बस्तीका अन्य घरमा भने डढेलो सल्कनबाट जोगिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । वनक्षेत्र महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट नजिक दुरीमा रहेको छ । चैत महिनाभित्र महालक्ष्मी नगरपालिकाका वनको डढेलोबाट आठ वटा घर जलिसकेका छन् । सोमबार पनि डढेलो बस्तीमा सल्कँदा महालक्ष्मी नगरपालिका-२ मा चार घर जलेका थिए । सान्नेटारस्थित धर्मदेवी सालबोट सामुदायिक वनबाट सल्किएको डढेलो बस्तीमा सल्किँदा स्थानीय राजकुमार कट्टेल, चेतबहादुर राय, कमल बस्नेत र सुमन बस्नेतको घर पूणर् क्षति पुगेको थियो । चैत १ गते महालक्ष्मी नगरपालिका-४ स्थित नाम्फुका स्थानीय ज्ञानबहादुर खड्का र खेलबहादुर खड्काको घर जलेर नष्ट थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्