झापा, चैत्र १७ । मोरङको रंगेली नगरपालिका-२ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा झुन्डिएको अवस्थामा आज दिउँसो युवा-युवतीको शव फेला परेको छ ।

लिचीको रुखमा झुन्डिएको अवस्थामा रंगेली-२ का अन्दाजी १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका-२ की अन्दाजी १८ वर्षीया ललिता उराव मृत फेला परेका हुन् । जनक कार्कीले सञ्चालन गरेको ईश्वरी कृषि फार्मभित्र रहेको लिची बगानको एउटै हाँगोमा डोरीको पासो लगाएर सञ्जय र ललितालाई झुन्डिएको भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार स्थानीयले झुन्डिएर मृत्यु भएको अवस्थामा देखेपछि दिउँसो १२ः५० बजेतिर प्रहरी चौकी बबियाविर्तालाई खबर गरेका थिए । त्यसलगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का नेतृत्वको टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि पठाएको छ । ‘एउटा रुखको एउटै हाँगो प्रयोग गरेर युवा-युवती झुन्डिएको अवस्थामा भेटिएका छन् । डोरी चैँ अलगअलग छन,’ डीएसपी दाहालले भने, ‘तर, एउटै गाँठो बनाएर झुन्डिएको अवस्थामा मृत फेला पारियो। घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ।’

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको यथार्थ पत्ता लगाउन निर्देशन दिँदै मिहीन ढंगबाट अनुसन्धान अघि बढाउन विशेष टोली परिचालन गरेका छन्। झुन्डिएको अवस्थामा भेटिएका सञ्जयको घर लिची बगाननजिक छ । बेलबारी-२ थापा टोलका माइला उरावकी छोरी ललिता र उनीबीच बिहे गर्ने पारिवारिक सहमति भइसकेको स्थानीय बताउँछन् । त्यही सहमति अनुसार १ महिना अघिदेखि ललिता सञ्जयकै घरमा गएर उनीसँगै बस्न थालेकी थिइन् । ‘हाललाई दुवैजनाको बिहे गर्ने उमेर पुगेको थिएन । उमेर पुगेपछि उनीहरूबीच सामाजिक औपचारिक हिसाबले बिहे गर्ने पारिवारिक सहमति भएको रहेछ,’ परिवारलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘त्यही सहमति अनुसार १ महिनादेखि सँगै बस्न थालेको पाइयो। अचानक दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिए ।’ प्रारम्भिक अनुसन्धानबाट झुन्डिनुपर्ने कुनै कारण पत्ता नलागेको र थप अनुसन्धानपछि घटनाका बारेमा यकिन हुने डीएसपी दाहालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्