बिर्तामोड, चैत १९ । हावाहुरीसहित आएको वर्षाका कारण पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठुलो क्षति भएको छ ।

शुक्रवार साँझ आएको हावाहुरीसहितको वर्षाले बिर्तामोड नगरपालिका वडा नम्बर २मा रहेको यस उद्योगमा दश करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।
उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टरलगायत धेरै मेशिनहरु पानी पसेर पूर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रवन्ध निर्देशक कपिल बिमलीले जानकारी दिए ।

यस्तै उद्योगमा काम गर्ने मजदुर बस्ने क्वाटरमा समेत पूर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायतका सामग्रीहरुमा क्षति हुनुका साथै भवनको छानामा लगाएको जस्तापातासमेत उडाएको छ । उद्योगको मुख्य मेशिन र भट्टी रहेको स्थानको छाना उडाएर असिना पानी पसेका कारण ठुलो क्षति भएको उद्योगका व्यवस्थापक भुपाल थापाले जानकारी दिए ।

शनिबार विहान उद्योगको वरिपरि रहेको खाली जग्गा र सडकमा छानामा लगाइएको जस्तापाता छरिएको पाइएको स्थानीयहरु बताउँछन् । यस उद्योगमा एक सय ३५ जनाभन्दा बढीले रोजगारी पाएका छन् ।

यो इण्डष्ट्रिज कोशी प्रदेशकै उत्कृष्ट स्टिल उद्योगका रुपमा परिचित छ । बैङ्कको व्याजदर र बजारको आर्थिक अवस्थाले पिरोलिरहेका बेला उद्योगले ठुलो क्षति व्यहोर्नु पर्दा लगानीकर्ताहरु मारमा परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्