झापा , चैत्र १९ । एक सातादेखि काठमाडौंमा रहेका मिटरब्याजपीडितहरू आज घर फर्कने भएका छन् ।

सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएपछि आन्दोलनमा रहेका मिटरब्याजपीडितहरू घर फर्कने भएका हुन् । उनीहरूका लागि घरसम्म जानका लागि सवारीसाधनको व्यवस्था भइरहेको संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए । “आज बेलुका घर पठाउने पहल भइरहेको छ । हामी गाडीको बन्दोबस्त गरिरहेका छौँ,” उनले भने, “अहिले उहाँहरूको स्वास्थ्य परीक्षण पनि भइरहेको छ । धेरैको स्वास्थ्य अवस्था सामान्य नै देखिएको छ ।” उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पीडितलाई भेट गरी घर जान सुजाएका छन् । उनले आयोग गठन गर्न र काम अगाडि बढाउन केही समय लाग्ने भएकाले सरकारले प्राथमिकता दिएर पीडितको हितमा काम गर्ने बताएका छन् । तराईका विभिन्न जिल्लाबाट मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर चैत १३ गते काठमाडौं गएका थिए । आन्दोलनमा सहभागी हुन साना-साना बालबालिका साथमा लिएर महिलाहरू पनि गएका छन् । साहुहरूले आफूहरूलाई ज्यादति गरेको भन्दै त्यसको उचित निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि यो समस्या हल जसरी पनि गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्