मेचीनगर, चैत २० । धुलाबारी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनकाजी खत्री दाहाल निर्वाचित भएका छन् ।

हिजो सम्पन्न मतगणनामा काँग्रेससहितको लोकतान्त्रिक प्यानलका खत्री १३४९ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशील प्यानलका रचिन्द्र श्रेष्ठले ८३२ र रास्वपाका उम्मेदवार सन्तोष राजवंशीले ४४७ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अशोककुमार पोखरेलले बताए ।

लोकतान्त्रिक प्यानलबाट उपाध्यक्ष पदमा हिमालय आङ्दम्बे १३५० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशील प्यानलबाट लक्ष्मी श्रेष्ठले ८३२ र रास्वपाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठले ३३६ मत प्राप्त गरे ।
त्यस्तै लोकतान्त्रिक प्यानलबाट सचिव पदमा उमानाथ (उमेश) सुवेदी ११०३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु संयुक्त प्रगतिशील प्यानलका उमेश डाँगीले १०२१ र रास्वपाका ओमनाथ घिमिरेले ३९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी सदस्यमा अमर लिम्बूले १०२६, ज्ञानबहादुर विष्टले ९५३, कविन्द्र श्रेष्ठले १२०९, केदार खत्री (भान्जा)ले ११९७, नारायण भट्टराईले १०२७, सरोज खड्काले १०२५, धनमाया गौतम (पोखरेल)ले १३०१ र लिलादेवी गौतमले ९२० मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार पदाधिकारीमा ३३५ र सदस्यमा ३११ मत बदर भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्