एजेन्सी । खेलाडी अनुबन्धमा महँगो रकम खर्च गरे पनि इङ्लिस प्रिमियर लिगको ११औँ स्थानमा रहेपछि चेल्सीले आइतबार राति प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेको छ ।

पोटर गत सेप्टेम्बरमा ब्राइटन छाडेर चेल्सीसँग अनुबन्ध भएका थिए । आइतबार बर्खास्त हुनुअघि पोटरको प्रशिक्षणमा चेल्सीले ३१ खेलमध्ये १२ मा जित हासिल गरेको थियो । पोटरको प्रशिक्षणमा चेल्सीले च्याम्पियन्स लिगमा भने राम्रो प्रदर्शन गरेको थियो । चेल्सीले लिग चरणमा एसी मिलानलाई दुईपटक हराएर समूहको शीर्ष स्थानमा रह्यो । नकआउट चरणमा चेल्सीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको छ । चेल्सीले क्वार्टरफाइनलमा अब साविक विजेता रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । तर, लिगमा भने चेल्सीको प्रदर्शन खराब रह्यो । लिगमा २८ खेल सकिँदा चेल्सी ३८ अंकका साथ ११औँ स्थानमा छ । चेल्सीको शीर्ष चारमा रहने सम्भावना अब लगभग सकिएको छ । चेल्सी चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १२ अंकले पछाडि छ । चेल्सी गत शनिबार घरेलु मैदानमै एष्टन भिल्लासँग २-० ले पराजित भएको थियो । उक्त खेलमा समर्थकले प्रशिक्षकलाई गिज्जाएका थिए । “ग्राहम यो संक्रमणलाई सहज बनाउन क्लबसँग सहकार्य गर्न सहमत भएका छन्,’’ चेल्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ग्राहमले हामीलाई च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुर्‍याएका छन् ।

जहाँ हामीले रियाल मड्रिडविरुद्ध खेल्दै छौँ । क्लब ग्राहमलाई उहाँको सबै प्रयास र योगदानको लागि धन्यवाद दिन चाहन्छ । उहाँलाई भविष्यको लागि शुभकामना दिन्छौ । ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिनेछन् ।’’ साल्टरको प्रशिक्षणमा चेल्सीले मंगलबार राति आठौँ स्थानमा रहेको लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिभरपुल चेल्सीभन्दा चार अंकले माथि छ । “हाम्रा अविश्वसनीय प्रशंसकहरूसँगै सिजनको बाँकी खेलमा ध्यान केन्द्रित गर्नेछौँ,’’ चेल्सीको मालिक टोड बोहली र बेहदाद एघबालीले भनेका छन्, “हामीसँग प्रिमियर लिगमा १० खेल बाँकी छन् र च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा छौँ । हामी ती प्रत्येक खेलमा राम्रो नतिजाका लागि सबै प्रयास र प्रतिबद्धता राख्नेछौं, ताकि हामी यस सिजनलाई उच्च स्तरमा समाप्त गर्न सकौं ।’’ पोटर प्रिमियर लिगमा जारी सिजन बर्खास्त हुने १२औँ प्रशिक्षक हुन् । पोटर बर्खास्त हुनु केही घण्टाअघिमात्र लेस्टर सिटीले ब्रान्डन रोजर्ससँग अलग भएको घोषणा गरेका थियो । यस सिजनले प्रिमियर लिगमा सबैभन्दा धेरै प्रशिक्षक बर्खास्त हुने कीर्तिमान बनाएको छ । यसअघि २०१७/१८ मा १० प्रशिक्षक बर्खास्त भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्