झापा , चैत्र २१ । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवर्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गर्ने जानकारी दिएको छ । ‘लघु चलचित्र निर्माण गर्नेलाई प्रोत्साहन र उचित अवसर मिलोस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो । चलचित्रकर्मीलाई सरल र सहजताका लागि बोर्ड सदैव साथमै छ’, बोर्ड अध्यक्ष भुवन केसीले भने । प्रतियोगितामा सहभागी हुनका लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम २०८० वैशाख १० गतेसम्ममा बोर्डको कार्यालय अथवा इमेलमार्फत पेस गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट हुने तीन चलचित्रले क्रमशः प्रथम हुने चलचित्रले एक लाख ५० हजार, द्वितीय हुनेले एक लाख र तृतीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पुरस्कृत चलचित्रलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिकरूपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, विशेष प्रदर्शनीमा सहभागी गराउनेछ । प्रतियोगितामा सहभागी हुने चलचित्र कम्तीमा ५० प्रतिशत नेपालमै छायाङ्कन भएको र चलचित्रकर्मी नेपाली भएको हुनुपर्नेछ । साथै सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रले मात्र भाग लिन पाउनेछन् र ती चलचित्रले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनुपर्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्