झापा , चैत्त २१ । नेपालमा पनि छिमेकी भारतमा फैलिएको ओमिक्रोनको नयाँ भेरिएन्ट ‘एक्सबीबी १.१६’ भित्रिइसकेको पुष्टि भएको छ ।

नेपालमा हाल कोरोना संक्रमितको संख्या फेरि दिनैपिच्छे बढ्दै गइरहेको छ । सोमबार कोरोना संक्रमण दर करिब ८ प्रतिशत पुगेको थियो । यही चैतमा कोरोना पुष्टि भएकामध्ये २४ जनामा गरिएको परीक्षणबाट १० जनामा नयाँ भेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार चैतमा संकलित २४ वटा पिसिआर र एन्टीजेन पोजेटिभ नमुनाको परीक्षण गर्दा ओमिक्रोनको बिए १.१ दुई जनामा, बिए.२ दुई जनामा, बिए २.७६ एकजनामा, बिए.५ दुईजनामा, बिए ५.२ दुईजनामा, एक्सबीबी १.१६ दशजनामा, एक्सबीबी १.५ तीनजनामा, एक्सबीबी २.६ एकजनामा र एक्सबीएफ एकजनामा पुष्टि भएको हो।

छिमेकी मुलुक भारत र चीनमा पनि ओमिक्रोनको नयाँ भेरिएन्ट फैलिइरहेकाले सीमाबाट आवतजावत गर्ने शंकास्पद लक्षण भएका यात्रुहरूको सीमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड-१९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भए आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नु परेमा नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको मन्त्रालयले बताएको छ । छिमेकी मुलुक भारतमा आइतबार मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । सरकारले कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि लक्षण देखिए परीक्षण गराइ आइसोलेशनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोभिड-१९ को लक्षण देखिनासाथै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध गरेको हो ।

रुघा, खोकी र ज्वरोजस्ता लक्षण कोरोना संक्रमणको हुने भएकाले सुरक्षित रहन मन्त्रालयको सुझाव छ । अस्तिको पानीमा भिजेको , हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बहाना नबनाउन मन्त्रालयको अनुरोध छ । नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड-१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन र संवेदनशील हुनसमेत मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालय अनुसार देशभर गरिएको १ हजार १५१ नमुना परीक्षणका क्रममा एकै दिन ७६ जनामा संक्रमण देखिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या २२७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्