झापा , चैत २३ । आज चैत्र शुक्ल पूर्णिमा, रामदूत हनुमानको जन्मजयन्तीका रूपमा मनाइँदैछ ।

हनुमानको जन्मजयन्ती सनातन धर्मका अनुयायीले मनाउँछन्।
रामायण कथाहरू, पात्रहरू अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रिय, दयावान अनि शक्तिशाली पात्रका रूपमा देखिन्छन् । रामभक्त अनि बलवान हनुमानलाई बल र साहसको पर्यायका रूपमा पनि अभिब्यक्त गरिएको पाइन्छ।
पौराणिक कथामा उल्लेख भए अनुसार अन्जानेरी पर्वतमा जन्मिएका हनुमानकी आमा अन्जना एउटी अप्सरा हुन्। जो आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा वृहस्पतिका छोरा केशरी हुन्। आज हनुमानको विशेष पूजा पनि गर्ने गरिन्छ।
भगवान् हनुमानको पूजा नेपाल र भारतमा मात्र नभई बंगलादेश, म्यानमार, थाइल्यान्डलगायतका देशहरूमा गरिन्छ । थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा सुरक्षाको लागि भनेर हनुमानका दर्जनौँ मूर्ति राखिएका छन् । त्यहाँको स्थानीय भाषामा भने भगवान हनुमानलाई अर्कै नामले पुकारा गरिन्छ। शास्त्रअनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।

हनुमान जयन्तीका अवसरमा देवी गुठी मठमन्दिर संरक्षण एवं पूजा समिति बिर्ताबजारले नवदुर्गा हनुमान मन्दिरमा आज झाँकी निकाल्ने भएको छ । दिउँसो ४ बजे सो झाँकी निकालिने कार्यक्रम संयोजक रामेश्वर मण्डलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्