झापा, चैत २४ । झापाको बिर्तामोडमा पहिलो पटक डा. योगी विकासानन्दको प्रवचन हुने भएको छ ।

आगामी वैशाख २२ गते विहान ६ देखि ११ बजेसम्म बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा प्रवचन हुने भएको हो । कार्यक्रममा योग ध्यान, साधना, हिप्नोटिस एवम् आध्यात्मिक ज्ञान प्रवचन हुने आयोजक विकासानन्द फाउन्डेसन विश्व परिवार झापाले जनाएको छ । पछिल्लो समय असन्तुलित जीवनशैलीका कारण मानिसहरु डिप्रेसन, एन्जाइटी, डर, त्रास, लागूपदार्थ दुर्ब्यसन, असफल प्रेम र शारीरिक कमजोरीका शिकार भइरहेकाले मानवलाई चिन्ताको विकराल जालोबाट उन्मुक्ति गराई नयाँ जोश र जाँगरका साथ जीवनशैली बदल्नका लागि सहयोग होस् भन्ने उद्धेश्यले कार्यक्रम गर्न लागिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रमलाई सम्पन्न गराउन विकासानन्द फाउन्डेशन विश्व परिवार बाराङ पोखरा पुगेर डा. योगी विकासानन्द तथा कमलेश्वर गुरुआमाबाट रेकी दिक्षा लिएकी झापा अर्जुनधारा कप्तानबारी निवासी रिना थापा (मेहर मगर) को संयोजकत्वमा ११ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जसको सचिवमा विजय बराल, सहसचिवमा डिल्ली नेपाल ,कोषाध्यक्षमा ओमविक्रम नेम्वाङ र सहकोषाध्यक्षमा ऋषि धिताल रहेका छन् ।

प्रवेश निःशुल्क रहने त्यस कार्यक्रममा १० हजारभन्दा बढी सहभागी हुने आयोजकले अनुमान गरेका छन् । कार्यक्रम सम्पन्न गर्नको लागि अनुमानित ७ लाख खर्च लाग्ने देखिएकोमा हालसम्म २ लाख रकम उठेकोले र अन्य रकम जुटाउने कार्य भइरहेको कार्यक्रम संयोजक थापाले बताइन् । कार्यक्रममा विकासानन्द गुरु तथा गुरुआमा कमलेश्वरीलाई नागरिक अभिनन्दन गरिनुका साथै झापाका दुईजना शिक्षासेवी, दुईजना समाजसेवी तथा दुईजना सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रम रहेको सचिव विजय बरालले बताए । उनले कार्यक्रमको प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर रहने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्