हल्दीबारी , चैत २६ । झापा क्षेत्र नम्बर क्षेत्र ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको गृहक्षेत्र हल्दीबारी गाउँपालिका अत्यावश्यक एम्बुलेन्स र दमकलविहीन छ ।

आकस्मिक बिरामी तथा सडक दुर्घटनामा परेका घाइतेहरूलाई अस्पतालसम्म पुर्याउन बाहिरबाट एम्बुलेन्स बोलाउनु पर्ने बाध्यता छ । बिर्तामोड तथा भद्रपुरबाट एम्बुलेन्स आउन समय लाग्ने र कुनै बेला त्यहाँ पनि एम्बुलेन्स तयारी अबस्थामा नहुने भएका कारण उच्च जोखिममा रहेका बिरामीलाई अस्पतालमा पुर्याउन ढिलाइ भए ज्यानै समेत जाने खतरा रहेको स्थानीय प्रेमराज न्यौपाने बताउँछन् ।

२०७४ सालको स्थानीय चुनाबमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट हल्दीबारी गाउँपालिकाको अध्यक्षमा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रबिन्द्र लिङ्देन निर्वाचित भएका थिए । उनले नै दोस्रो पटक अध्यक्षमा जितेका छन् । पहिलो कार्यकालमा निर्वाचित अध्यक्ष लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीले पालिकाका लागि स्कोर्पियो गाडी र जेसीबी तत्काल खरिद गरे । तर, एम्बुलेन्स र दमकल किन्न वा कुनै दातृ निकायहरूसँग माग गर्न पहलसमेत गरेनन् ।
यस क्षेत्रबाट पटकपटक चुनाब जितेर गएका राजनीतिक पार्टीको राष्ट्रिय अध्यक्ष हुँदै उप–प्रधानमन्त्री बनिसकेका राजेन्द्र लिङ्देनले आफ्नो गृहक्षेत्रमा अति आवश्यकीय एम्बुलेन्स र दमकलको व्यवस्था मिलाउन नसक्नु बिडम्वना भएको दिपक उप्रेती बताउँछन् ।

हल्दीबारी गाउँपालिकाले आधारभूत अस्पताल सञ्चालन गरेको छ । त्यस्तै हल्दीवारीमा निजी लगानीमा सामुदायिक अस्पताल पनि खुल्न लागेको छ । तर, अस्पतालसम्म बिरामी आईपुग्ने साधनको भने अभाब छ । त्यस क्षेत्रमा नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथलले सञ्चालन गरेको एम्बुलेन्स लामो समयदेखि बिग्रिएर थन्किएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्