झापा, चैत्र २६ । पाँचथरको हिलिहाङ गाउँपालिका-७ का निर्वाचित वडा सदस्य सुनमान तामाङले ६२ वर्षको उमेरमा एसईई दिएका छन् ।

उनले अमरपुर मा.वि अमरपुबाट ग्रेडवृद्धिका लागि एसईई परीक्षा दिएका हुन् । अमरपुर मा.वि.बाट परीक्षा फारम भरेका तामाङ श्री जंघ मा.वि गोपेटारबाट परीक्षामा सामेल भएका हुन् । २०१७ साल साउन १७ गते जन्मिएका तामाङ २०७४ र २०७९ का स्थानीय तह निर्वाचनमा हिलिहाङ-७ को वडा सदस्यमा निर्वाचित भएका थिए । २०७४ मा निर्वाचित तत्कालीन वडाध्यक्ष्य तीर्थराज तिम्सिनाको निधनपछि उनी झन्डै डेढ वर्ष कार्यवाहक वडाध्यक्ष भएका थिए । एसईई परीक्षाको अन्तिम दिन अनुगमनका लागि शिक्षा शाखाका कर्मचारीसहित श्रीजंघ मावि पुगेका हिलिहाङ गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी परीक्षा लेखिरहेका वडा सदस्य तामाङलाई देख्दा छक्क परे । ‘तामाङको यो उत्साहले पढ्ने चाहनालाई उमेरले छेक्दैन भन्ने उखान पुष्टि गरेको भन्दै बधाई र शुभकामना दिएर फर्किएँ,’ अधिकारीले भने । शिक्षक, कर्मचारी र बुद्धिजीवी मात्रै नभएर जनप्रतिनिधिको क्षमता मापनका लागि शैक्षिक योग्यता महत्वपूर्ण सूचक भएकाले यो उमेरमा ग्रेडवृद्धिका लागि एसईईमा सहभागी भएको उनले बताए । ‘एसईईमा राम्रो ग्रेड आए प्लस टु पनि पढ्छु,’ तामाङले आइतबार एसईई लेखिसकेपछि परीक्षा केन्द्रबाट बाहिरिँदै भने । गत वर्ष दिएको एसईई परीक्षामा १.६ जीपीए नपुगेका कारण ग्रेडवृद्धिका लागि पुनः परीक्षामा सामेल भएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्